अर्काे आदेश जारी नभएसम्म विद्यालय नखाेल्न निर्देशन
नुवाकाेट। नुवाकोट र रसुवाका विद्यालय अर्काे आदेश जारी नभएसम्म नखोल्न जिल्ला प्रशासन कार्यालय नुवाकोट र रसुवाले निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोट र रसुवाले बुधवार मन्त्रिपरिषद्को भदौ २९ को निर्णयलाई आधार बनाएर शिक्षण संस्था सञ्चालन नगर्न निर्देशनात्मक अनुरोध गरेको हो।
शिक्षा मन्त्रालयको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’मा विद्यालय खोल्ने सन्दर्भ कतै उल्लेख नगरिएकाले विद्यालय खोल्न मनाही गरिएको प्रशासनको सूचनामा उल्लेख छ।
कोभिड–१९ बाट नुवाकोटमा अहिलेसम्म १ सय ३१ जना संक्रमित भइसकेका छन् भने १५ जना सक्रिय संक्रमित छन्। त्यस्तै रसुवा २१ जना कोरोना संक्रमित भइसकेका छन् भने १ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
नुवाकोट र रसुवा प्रशासनले विद्यालय तथा शिक्षण संस्था खुला गर्दा विद्यालयबाट संक्रमणको जोखिम हुने भएकाले पनि तत्कालका लागि विद्यालय खोल्न नहुने पक्षमा प्रशासन छ।
प्रशासनले विद्यालय नखोल्न निर्देशन दिए पनि नुवाकोट र रसुवाका स्थानीय तहले भने प्रशासनको आदेश नमान्ने संकेत दिएका छन्। केन्द्र सरकारले वैकल्पिक शिक्षा प्रणालीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर अध्ययन अध्यापन गराउन अनुमति दिएकाले आफूहरूले वैकल्पिक माध्यमबाट पढाइ सुरु गर्ने स्थानिय तहका प्रमुखहरुले बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment