महालक्ष्मीका नगरप्रमुख कोरोना मुक्त, पसल नखोलिदिन गोदावरी नगरपालिकाको आग्रह

डिसी नेपाल
१९ असोज २०७७ २३:१८

काठमाडौं। महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। नगर प्रमुख श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भएपछि ग्वार्कोको किष्ट मेडिकल कलेजमा भर्ना भएर उपचार गराइरहेका थिए। “आज मेरो कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ”, मेडिकल कलेजबाट घरजाने तयारीमा रहेका प्रमुख श्रेष्ठले भने, “चिकित्सकले आवश्यक औषधि लेखेर एक हप्ता होम आइसोलेसनमा बस्न सुझाव दिनुभएको छ । त्यसपछि पनि चिकित्सकसँग छलफल गरेर मात्र घरबाहिर निस्कनेछु ।” अब केही दिन आफूले घरबाटै नगरपालिकाका सम्पूर्ण काम सञ्चालन गर्ने उनले बताए।

गत भदौ ३० गते प्रमुख श्रेष्ठ र उनकी श्रीमती अञ्जिका श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनकी श्रीमती अञ्जिका श्रेष्ठलाई यही असोज १६ गते कोरोना परीक्षणको रिपोर्ट नेगेभिट आएको थियो ।

यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज ९ गतेदेखि बखुन्डोलस्थित निजी निवासमा आइसोलेसनमा रहेका उनी अहिले सानेपास्थित स्टार अस्पतालमा भर्ना भएका छन्। असोज १६ गते छातीमा केही समस्या देखिएपछि उनी अस्पताल भर्ना भएको प्रमुख महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यले जानकारी दिए। उनले भने, “अस्पताल भर्ना भएतापनि नगरप्रमुखको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।”

त्यस्तै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उनकी श्रमती गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दुबै जना यही असोज नौ गतेदेखि होम आइसोलेसनमा रहेका छन्। दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए।

पसल नखोलिदिन अनुरोध

गोदावरी नगरपालिका–५ ले काभ्रे र मनकामनाका सम्पूर्ण पसलहरु नखोलिदिन व्यापारीलाई अनुरोध गरेको छ ।

कोभिड–१९ महामारीका कारण आइतबार मात्र सो वडाका ६२ वर्षीय पुरुषको मृत्युभएसँगै वडाले उक्त आग्रह गरेको हो । मृतकको पत्नीमा पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएर हाल होम आइसोलेसनमा बसिरहेका वडाध्यक्ष मिलन सिलवालले बताए। उनले भने, “हामीले एक चरणमा कन्ट्याक ट्रेसिङको काम सकेर भोलीबाट पुनःअर्को चरणमा ट्रेसिङ् शुरु गर्ने भएका छौं। त्यसैले अत्यावश्यक बाहेक सेवा बाहेक अन्य सेवा आजबाट आउँदो शुक्रबारसम्मका लागि बन्द गरिएको छ ।”

गोदावरीमा आजमात्र चार महिला र छ पुरुष गरी कूल १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म गोदावरीमा कोरोना सङ्क्रमितको सङ्ख्या २०३ पुगेको छ । तीमध्ये होम आइसोलेसनमा ५७, विभिन्न अस्पतालमा उपचार भइरहेका पाँच, बडिखेल आइसोलेसमा ६ जना रहेका छन् । उपचारपछि निको हुनेको सङ्ख्या १३२ जना रहेका छन् चने कोरोना सङ्क्रमणबाट अहिलेसमम तीन जनाको मृत्यु भएको नगरपालिककाले जनाएको छ ।

कोरोना सङ्क्रमण बढेसँगै भूमि सुधार तथा मालपोत कार्यालय ललितपुर आजदेखि पाँच दिनका लागि बन्द भएको छ । कार्यालयको अग्रपङ्तीमा रहेर सेवा दिने केही कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि कार्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *