सडक दुर्घटनाका कारण अफगानिस्तानका स्टार क्रिकेट खेलाडीको निधन

डिसी नेपाल
२० असोज २०७७ ११:३८
320
Shares

काठमाडौं । अफगानिस्तानका ओपनर नजीब तारकईको निधन भएको छ। २९ वर्षीय अफगान ब्याट्सम्यान नाजीब गत शुक्रवार एक सडक दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनी दुर्घटनामा परी घाइते भएपछि कोमामा गएका थिए। उनको टाउकोमा गहिरो चोट लागेको थियो।

गत शुक्रबार नजीब पूर्वी ननगारहरमा किराना पसलबाट निस्केर सडक पार गर्दै गर्दा एक कारले उनलाई ठक्कर दियो र उनलाई तत्काल अस्पताल लगिएको थियो। ओपनर नजीबले अफगानिस्तानका लागि एक ओडीआई र १२ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। पहिलो श्रेणी क्रिकेटमा उनको प्रदर्शन उत्कृष्ट थियो। पहिलो श्रेणीमा उनले २४ खेलमा २ हजार ३० रन बनाएका थिए, जसमा ६ शतक र १० अर्धशतक पनि समावेश छ। पहिलो श्रेणीमा उनको औसत ४७ भन्दा माथि रहेको थियो।

उक्त घटनाप्रति शोक व्यक्त गर्दै अफगानिस्तान क्रिकेट बोर्डले सोशल मिडियामा लेख्यो, “एसीबी र क्रिकेटलाई माया गर्ने देश अफगानिस्तानले उनीहरूको आक्रामक ओपनर र अति राम्रो मान्छे नजीब तारकईलाई गुमाएको छ। उनको एउटा दुर्घटनामा मृत्यु भएको छ। यो घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ । अल्लाहले उनको परिवार र उनीमाथि कृपा गरुन ।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.