अष्ट्रियामा आफ्नै तीन सन्तान मार्ने नेपाली आमाले प्रहरीलाई दिइन् सनसनीपूर्ण बयान

डिसी नेपाल
१४ कार्तिक २०७७ १४:१७

काठमाडौं। अष्ट्रियाको राजधानी भियनामा आफ्नै तीन सन्तानको हत्या गर्ने नेपाली महिलाले सन्तानको हत्या गर्नुपर्ने कारण पारिवारिक कलह र मानसिक तनाव हुन सक्ने देखिएको छ । यद्यपि यसको प्रस्ट कारण थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ र अभियुक्त महिलाले प्रहरीलाई दिएको बयानका आधारमा उनले कलहकै कारण हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । उनले प्रहरीलाई हत्याको क्रममा दुई साना छोराछोरीको हत्या सजिलै गरेको तर ९ वर्षकी जेठी छोरीलाई मार्ने क्रममा उनी उठेर प्रतिवाद गरेपछि अत्यन्तै संघर्षपूर्वक उनलाई मारेको सनसनीपूर्ण बयान दिएकी छिन् ।

एक स्थानीय पत्रिकाले महिलाले दिएको बयानबारे विस्तृत रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्टका अनुसार यो दम्पतीको पहिलेदेखि नै झगडा चल्दै आएको थियो । घटनाको केही हप्ता अघि मात्रै पतीपत्नीबीच ठूलो झगडा भएपछि महिलाका पतिलाई घरबाट निकालिएको थियो । प्रहरीले उनलाई घरमा प्रवेशमा प्रतिबन्ध लगाएको थियो तर महिलाकै आग्रहमा घर प्रवेशमा प्रतिबन्ध १४ दिनभन्दा पछि लम्ब्याइएन र उनका पती अक्टोबर १५ मा घर फर्किएका थिए ।

पती घर फर्किएको २४ घण्टा नहुँदै उनीहरुबीच फेरि झगडा भएको थियो । ‘मेरी पत्नीलाई अचानक लाग्यो कि म उनकी बहिनीसँग नयाँ सम्बन्ध सुरु गर्न चाहन्छु । जबकि उनी भारतमा बस्छिन्, विवाहित छिन् र दुई छोराछोरीकी आमा हुन्’ महिलाका पतीले भने । केही समयपछि ती महिला आफ्ना पतीले आफूलाई धोका दिइरहेकोमा विश्वस्त भइन् तर उनका पती भने यो कुरालाई बेकारको भन्दै अस्वीकार गर्छन् । एक पटक महिलाले आफ्ना पतिले खानामा विष मिसाएको समेत शंका गरेको उनका पति बताउँछन् । तर महिलाले भने आफ्ना पतिको डाहा गर्ने बानीका कारण आफू विक्षिप्त भएको बताउँछिन् । उनले सम्बन्धविच्छेद गर्न चाहेको बताउँदै आफूहरुबीच मुख्य गरी पैसाको विषयमा झगडा हुने बताएकी छिन् ।

घटना हुनुभन्दा अघिल्लो साँझ उनीहरुबीच फेरि झगडा भयो । महिलाले प्रहरीलाई बताएअनुसार उनका पतीले आफूले छोराछोरी लिएर जाने र महिलालाई नेपाल पठाइदिने बताएका थिए । ‘म निराश थिएँ । मैले उनीसँग झगडा गरें त्यसपछि उनी अपार्टमेन्ट छाडेर गए’ महिलाले प्रहरीसँग भनेकी छिन् । झगडापछि महिलाले खाना बनाइन् र करिब ९ बजेतिर सुत्न गइन् । उनको सानो छोरा भोकाएपछि महिला फेरि उठिन् । उनले दुध तताएर छोरालाई खान दिइन् । गएको फेब्रुअरीमा मुटुसम्बन्धी समस्यासहित जन्मिएका उनका छोरा दुध पिएसँगै निदाए । ‘तर म चिन्ता गर्न थालें । म डराएकी थिएँ र म छोराछोरीबिना रहन चाहन्नथें’ महिलाले भनिन् ।

आँखामा आँसुसहित प्रहरीको सोधपुछको क्रममा महिलाले निराशाले गराएको घटनाबारे बताइन् ‘मैले खाटबाट पहेंलो सिरानी लिएँ, छोराछोरी भएको ठाउँमा गएँ र सानो छोराको अनुहारमा सिरानीले थिचें । बीचमा म रोकिएँ र फेरि अर्को बच्चालाई पनि त्यस्तै गरें । एउटा विन्दूमा पुगेपछि उनीहरु शान्त भए ।’ ९ वर्षकी ठूली छोरीको जीवनको अन्तिम समय भने अत्यन्तै नाटकीय रुपमा बित्यो । ‘उनी बिउँझिइन् र मसँग आफ्नो पूरा शक्ति लगाएर लडिन्’ महिलाले आफ्नी छोरीको पीडा सम्झिँदै भनिन् ‘उनले आफ्नो हातले मलाई कुट्ने र चिथोर्ने गर्न थालिन् । मैले झनै जोडले थिचें, जबसम्म उनी पनि पूरै शान्त भइनन् ।’

महिलाका अनुसार छोराछोरीको हत्या गरेपछि उनी निकै दुखी र निराश भएर भान्छामा गइन् । उनले आत्महत्या गर्ने प्रयास गरेकी थिइन् तर असफल भइन् । केही घण्टापछि उनले ठूली छोरीको फोनबाट प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि घटनास्थल पुगेको प्रहरीले उनलाई पक्राउ गरेको थियो । महिलाले आफ्नो फोन झगडाको क्रममा भित्तामा हानेर फुटाएकोले छोरीको फोनबाट प्रहरीलाई फोन गरेको बताएकी छिन् ।

भियनाका क्रिमिनल ल विशेषज्ञ फ्लोरियन अलवार्थले एक हप्ताअघि महिलाको केस लिएका छन् । उनले आफूले नै प्रहरी अनुसन्धान रिपोर्ट नपाएकोले विस्तारमा बताउन नसक्ने बताउँछन् । महिलालाई भेट्न गएपछि उनले ती महिला निकै विक्षिप्त र टुटेकी देखिएको बताएका छन् । मनोवैज्ञानिक रिपोर्टमा मात्र घटनाको पृष्ठभूमि र अन्य कुराहरु थाहा हुन सक्ने उनले बताए ।

महिलालाई जेलमा कोरोना आइसोलेसनमा राखिएको छ । उनले आत्महत्या गर्न सक्ने जोखिमका कारण उनलाई २४ सै घण्टा निगरानीमा राखिएको छ । उनी विक्षिप्त छिन् र बारम्बार ‘मेरा छोराछोरी कहाँ छन् ? म कहाँ छु ? म अझै कति यहाँ बस्नु पर्छ ?’ भनेर सोधिरहन्छिन् । भिएना पब्लिक प्रोसिक्युटरले उनको मनोवैज्ञानिक जाँचको लागि पिटर हफमनलाई जिम्मेवारी दिएको छ । यो अभियोगमा दोषी ठहरिए महिलालाई आजीवन कारावासको सजाय हुन सक्छ । यदि उनलाई गम्भीर मानसिक रोग भए कुनै मानसिक स्वास्थ्य संस्थानमा भर्ना गर्ने आदेश दिइन सक्छ ।

स्थानीय मिडियामा जर्मन भाषामा प्रकाशित रिपोर्टलाई यान्त्रिक रुपमा अंग्रेजीमा अनुवाद गरेर त्यसको आधारमा समाचार तयार पारिएको




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *