बाइडेन अमेरिकी राष्ट्रपति भए नेपाललाई फाइदा हुन्छ ?

खेमराज थापा
२२ कार्तिक २०७७ १८:०२

काठमाडौं। विश्व महाशक्ति राष्ट्र अमेरिकामा तीन नोभम्बरमा भएको राष्ट्रपीयत निर्वाचनको मतगणना जारी छ। अन्तिम मतपरिणाम आउन अझ केही दिन लाग्ने अमेरिकी सञ्चार माध्यमहरुले उल्लेख गरिरहेका छन्।

तर, शनिबारसम्म को मतपरिणामलाई आधारमा मान्ने हो भने पदासिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै डेमोक्रेटिक पार्टीका उम्मेदवार व्हाइट हाउस पुग्ने सम्भावना बलियो देखिएको छ। हालसम्म बाइडेनले राष्ट्रपति निर्वाचित हुन आवश्यक पर्ने २७० मध्ये २५३ इलेक्टोरल भोट जितिसकेका छन् भने मतगणना जारी रहेका ४ राज्यमा पनि अग्रता लिइरहेका छन्।

अमेरिकामा मतगणना हुँदा विश्व महाशक्तिको राष्ट्रपति को हुन्छ ? र त्यसले के प्रभाव पार्छ भन्ने चासो विश्वभर नै छ। नेपालमा पनि अमेरिकी मतगणनालाई सबैतिरबाट चासोका रुपमा हेरिएको पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमा देखिएका पोस्टहरुले पुष्टि गर्छन्।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७ दशक भइसकेको छ। ७ दशक लामो सम्बन्धमा अमेरिकाले नेपाललाई आर्थिक सहयोग, सैन्य सहयोग, प्रविधि सहयोग गर्दै आएको छ। अथवा नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर छ। तर, नेपालले पछिल्लो पटक अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले दिएको ५५ करोड डलरको अनुदान सहयोग सम्झौता गरेर पनि कार्यान्वयनमा ल्याएको छैन। यसले नेपालमा अमेरिकी विश्वास गुम्ने चिन्ता

एकातर्फ छ भने सो सहयोग स्वीकार गर्दा नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने अर्को तर्क छ।

यहीबचीमा एमसीसी फसिरहेको छ।

तर, अमेरिकामा नयाँ राष्ट्रपति आएपछि नेपाल र नेपालीलाई के फरक पार्छ भन्ने चासो सबैतिर छ। नेपाल–अमेरिका सम्बन्धका जानकारहरु भने बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचित भए नेपाल र नेपालीलाई फाइदा नै हुने बताउँछन्। अमेरिकाका लागि पूर्व राजदूत डा. शंकर शर्माले राजनीतिक रुपमा ठूलो परिवर्तन नभए पनि बाइडेनले जित्दा नेपाल र नेपालीलाई फाइदा नै हुने बताए।

उनले डिसी नेपालसँग भने, ‘ट्रम्पभन्दा बाइडेन विदेश मामिलामा परिपक्व छन्। त्यसैले उनले आक्रामक विदेश नीति लिने सम्भावना कम छ। त्यसको नेपाललाई अप्रत्यक्ष फाइदा हुन्छ। बाइडेनले चीनसँगको हालको तनावलाई कम गर्न सक्छन्, त्यसको पनि अप्रत्यक्ष फाइदा हुन सक्छ। अर्को कुरा कोरोना नियन्त्रणका लागि बाइडेनले अमेरिकी नीतिमा ल्याउने परिवर्तनले पनि नेपाललाई अप्रत्यक्ष फाइदा पुग्छ।’

ट्रम्प प्रशासनले कोरोन भाइरसको विषयलाई लिएर विश्व स्वास्थ्य संगठनसँग मतभेद हुँदा अमेरिकी सहयोग नै बन्द गरिदिएका छन्। तर, बाइडेनले सो सहयोग पुनः शुरु गर्ने अपेक्षा गरिएको छ। बाइडेनले अन्तर्राष्ट्रिय संघ संस्थालाई बलियो बनाउँदा त्यसके अप्रत्यक्ष फाइदा नेपाललाई हुने डा. शर्माको विश्वास छ। उनले बाइडेन जितेमा नेपाललाई अप्रत्यक्ष तर महत्वपूर्ण फाईदा जलवायु परिवर्तनका विषयमा हुने बताए।

ट्रम्प प्रशासनले जलवायु सम्बन्धी पेरिस सम्झौताबाट अलग्गिने घोषणा गरेको छ भने बाइडेनले आफू निर्वाचति भए लगत्तै सो सम्झौतामा फेरि फर्किने बताएका छन्। यसले नेपाल जस्तो पर्वतीय मुलुकलाई फाइदा हुने डा. शर्माको विश्वास छ।

उनले नेपाललाई हुने प्रत्यक्ष फाइदा यूएसएडमार्फत हुने सहयोग बढ्न सक्ने बताए। उनले कोरोनाका कारण केही वर्ष अमेरिकी सहयोग घटे पनि बाइडेनको कार्यकालको अन्त्यतिर यूएसएडबाट हुने सहयोग बढ्ने बताए। त्यस्तै अमेरिकी सैन्य सहयोग भने यथावत रहेने उनको विश्वास छ। एमसीसीका विषयमा पनि नेपालले वार्ता गर्न सहज वातावरण बन्ने डा. शर्माको विश्वास छ। ट्रम्पभन्दा बाइडेन विदेश मामिलामा परिपक्क भएकाले नेपालले एमसीसीका विषयमा आफ्ना कुरा राख्न सहज हुने डा. शर्माको तर्क छ।

त्यस्तै अमेरिकामा रहेका नेपालीलाई बाइडेनले जित्ना निकै फाइदा हुने विश्वास गरिएको छ। ट्रम्प उग्र राष्ट्रवादी विचारका थिए। उनले अमेरिकामा आप्रवासीमाथि कडा व्यवहार गर्दै आएका छन्। तर, बाइडेन नरम र समावेसी दृष्टिकोणका भएकाले अमेरिकामा हालको अप्रवासी नीतिमा परिवर्तन आउने र त्यसको फाइदा अमेरिकामा रहेका प्रवासी नेपालीलाई हुने डा. शर्माको विश्वास छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *