चुनाब हारेका ट्रम्प कसरी राष्ट्रपति बनिरहन सक्छन् ? ह्वाइट हाउसमा दोस्रो कार्यकालको तयारी
काठमाडौं। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएको घोषणा भइसकेको छ । डेमोक्रेड उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गरिसकिएको छ । तर, ट्रम्प हार मान्ने पक्षमा छैनन् । उनले आफूले चुनाब जितेको दावी गर्दै आएका छन् । निर्वाचन परिणाम उल्ट्याउन उनले कैयौं मुद्दा पनि हालेका छन् । यस्तोमा अहिले उठेको महत्वपूर्ण प्रश्न हो, के चुनाब हारेका ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनिरहन सक्छन् ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले पनि केही दिनअघि अर्को ट्रम्प प्रशासनलाई सत्ता हस्तान्तरण गरिने बताएका थिए । पोम्पियोले अर्को ट्रम्प प्रशासन भन्नुको अर्थ उनले ट्रम्पको दोस्रो कार्यकाल भन्न खोजेका थिए । पोम्पियोले पनि ट्रम्पको दोस्रो कार्यकालको कुरा गरेपछि के ट्रम्प हारेर पनि राष्ट्रपतिमा कायमै रहने कुनै विकल्प छ ? भन्नेबारे चासो बढेको छ ।
द गार्डियनको रिपोर्टअनुसार ट्रम्पको कार्यकाल दोहोरिने संवैधानिक विकल्प भने छैन । यद्यपि अमेरिकामा ट्रम्प र उनको पार्टीका नेताहरुले सत्तामा कायमै रहने हरसम्भव प्रयास गर्नेतर्फ चिन्ता जाहेर गर्न थालिएको छ । यद्यपि ट्रम्पसँग सत्तामा कायमै रहने कुनै संवैधानिक विकल्प भने बाँकी छैन किनकि आगामी डिसेम्बर १४ देखि बाइडेनलाई नयाँ राष्ट्रपति बनाउने प्रक्रिया सुरु हुने तय छ । १४ डिसेम्बरमा इलेक्टोरल कलेजको बैठकमा मतदान हुनेछ ।
अहिलेसम्मको पूर्वानुमानअनुसार यस क्रममा बाइडेनले २७० भन्दा कैयौं धेरै मत पाउने अनुमान गरिएको छ । यी मतले बाइडेनको जीत सुनिश्चित गर्नेछन् । अहिलेसम्म यस्तो कुनै प्रमाण पनि भेटिएको छैन जसले चुनाबमा धाँधली भएको पुष्टि गर्न सकोस् । निर्वाचन अधिकारीले यो निर्वाचनलाई अमेरिकी इतिहासकै सबेभन्दा सुरक्षित निर्वाचन भनिसकेका छन् । क्यालिफोर्निया युनिभर्सिटीका कानुनका प्राध्यापक रिचर्ड हसेन भन्छन् यदि देशमा कानुनको राज जारी रह्यो भने ट्रम्पसँग सत्तामा रहिरहने कुनै संवैधानिक अधिकार छैन ।
ट्रम्प राष्ट्रपतिमा रहिरहने संवैधानिक विकल्प देखिँदैन तर ह्वाइट हाउसमा भने ट्रम्पको दोस्रो कार्यकालको तयारी सुरु भइसकेको पोलिटिकोको रिपोर्टमा उल्लेख छ । ह्वाइट हाउसका ट्रेड एडभाइजर पिटर नावारोले शुक्रबार ट्रम्प प्रशासनले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल थपिने शैलीमा काम गरिरहेको बताएका छन् । निर्वाचनको परिणाममाथि नै हस्तक्षेप गर्ने गरी आगामी बाइडेन प्रशासनले ट्रम्पका कैयौं नीतिहरु खारेज गर्न सक्ने सम्भावनालाई पनि बेवास्ता गरिएको उनले बताएका छन् ।
‘हामी ह्वाइट हाउसमा दोस्रो कार्यकाल थपिने विश्वासका आधारमा अगाडि बढिरहेका छौं’नावारोले फक्स बिजनेससँगको कुराकानीका क्रममा भने । राष्ट्रपति ट्रम्पले बाइडेनको जीन स्वीकार गर्न मानिरहेका छैनन् । सीएनएनका अनुसार ट्रम्प प्रशासनले बाइडेनको टिमलाई कुनै सहयोग समेत गरिरहेको छैन र विदेश विभागमार्फत बाइडेनलाई आएका सन्देशहरु पनि दिइएको छैन । ‘जबसम्म हामीले यस्तो गरिरहन्छौं, हाम्रो धारणा भनेको दोस्रो कार्यकाल हो’ नावारोले भने ‘जो बाइडेनले के गर्न सक्छन् भन्ने अनुमान अहिलेको लागि परको कुरा हो ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment