धमिलो पानीमा माछा मार्ने प्रयासमा पूर्वराजा ज्ञानेन्द्र

डिसी नेपाल
१२ मंसिर २०७७ १२:५३

काठमाडौं। देशका केही भागहरुमा यतिबेला राजसंस्था पुनस्र्थापनाको माग गर्दै प्रदर्शनहरु शुरु भएका छन्। केही हप्ताअघि बुटवलमा मोटर साइकल र्यालीबाट शुरु भएको राजसंस्था पक्षधरहरुको प्रदर्शन दुई दिनअघि पोखरामा पनि सम्पन्न भएको छ।

कुनैबेला ‘सरकार मेरो बेहाल भयो, विहान बेलुका छाक टार्न सकिनँ’ भन्दै दुई हात जोडेर बिन्ती बिसाउँदा कुनै उत्तर नदिई ‘बुझेँ बुझेँ’ भन्दै पन्छिने उनै राजा ज्ञानेन्द्रका पक्षमा यतिबेला देशका केही भागहरुमा प्रदर्शनहरु शुरु भएका छन्।

यही बुझे बुझे भन्ने राजा ज्ञानेन्द्रको भनाइलाई हास्यकलाकार मनोज गजुरेलले व्यग्यका रुपमा प्रस्तुत गरेर त्यसबेला राजालाई उडाएका थिए। तर, तल्कालीन राजा ज्ञानेन्द्रको सुशासन दिन नसकेको अवस्थाले उत्पन्न आक्रोशलाई केही वर्षको अन्तरालमा जनताले भुल्न थालेका छन् र उनका पक्षमा प्रदर्शनहरु पनि हुन थालेका छन्।

प्रदर्शनका क्रममा कांग्रेसका अधिक र पूर्व एमाले तथा माओवादीका केही कार्यकर्ताको समेत उपस्थितिले पूर्वराजावादी तथा मण्डलेहरुमा उत्साह थप भएको छ। तर, यो प्रर्दशनको पृष्ठभूमि भने निकै रोचक छ।

विशेषत पूर्वराजा ज्ञानेन्द्र शाह लकडाउन शुरु हुनअघिको अर्थात् २०७६ सालको अन्त्यतिरको भारत भ्रमण र त्यसभ्रमणका क्रममा भारतीय राजनीतिकर्मी तथा जासुृसहरुसँग भएको गोप्य सहमति यो प्रदर्शनका लागि मुख्य जिम्मेवार पक्ष हो।

भारतको धेरै हदसम्मको गोप्य भ्रमण गरेर फर्केएता पूर्वराजा ज्ञानेन्द्रले चलाएको जी शाह नामको ट्वीटर ह्याण्डल निकै सक्रियतापूर्वक नेपालका राजनीतिक घटनाक्रमहरुमा टिप्पणी लेख्न थालेका थिए र अधिकांश ट्वीटहरु गणतान्त्रिक शासन व्यबस्थाका विरुद्ध वर्तमान सरकारका विरुद्ध केन्द्रित भएका देखिन्छन्।

सत्ताको केन्द्रमा प्रचण्ड र सडकमा पूर्वराजा ज्ञानेन्द्रको उपस्थितिले नेपालको राजनीतिलाई अनौठो मोड दिने प्रयास गरेको छ। के यो दरबारको राजनीति गर्ने नयाँ शैली हो?

र, भारतको सत्तारुढ पक्षले झैं सो ट्वीटरमार्फत नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारबिरुद्ध प्रहार गर्ने गरिएको छ। तर, प्रहार भारतीयहरुको जस्तो असभ्य भने छैन। निकै उन्नतस्तरको भाषा प्रयोग गरिएको हुन्छ त्यसमा।

जी शाहका नाममा बैशाख २८ गते ट्वीट गर्दै लेखिएको छ, ‘निकटतम छिमेकी देशसँगको सीमा विवाद भनेको अत्यन्तै गम्भीर विषय हो। यसको समाधानका लागि सरकारका तर्फबाट म्यान–टु–म्यान कुटनीतिक पहल अनिवार्य छ। वक्तव्य वा डिजिटल वार केवल जानकारीका लागि मात्र प्रयोग हुने हुनाले यथाशीघ्र नेपाल–भारत–चीन त्रिपक्षीय वार्ता गरी समाधान गर्नु उपयुक्त हुन्छ।’

पूर्वराजा ज्ञानेन्द्र त्यसयता निरन्तर भारतीय गुप्तचर संस्था रअका प्रतिनिधिहरुसँगको सम्पर्कमा छन् भनिन्छ र उनको पक्षमा नेपालमा माहोल बनाउन रअको प्रयास पनि जारी छ।

सके राजालाई फर्काउने, नसके हिन्दू राज्य नेपालको संविधानमा उल्लेख गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको योजनामा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सक्रियतापूर्वक लागेका विवरणहरु नेपालका सुरक्षा निकायका जासुसी युनिटहरुले पाएका छन्।

एक उच्च सैनिक स्रोतका अनुसार, केही दिनअघि बुटबलमा पूर्वराजाको पक्षमा भएको मोटरसाइकल -यालीसहितको प्रदर्शनमा उपस्थित गराइएका मोटरसाइकललाई लाग्ने आवश्यक खर्चको व्यबस्थापन उत्तर प्रदेश सरकारले गरेको थियो। तर, यो आरोपको स्वतन्त्ररुपमा पुष्टि भने हुन सकेको छैन।

गद्दी पुनप्राप्तिका लागि राजा ज्ञानेन्द्रले मुलुकको राष्ट्रिय सुरक्षा तथा कुटनीतिको बागडोर के भारतीयको हातमा सुम्पन तयार भएका हुन्? होइन भने भारतीय सत्ता किन पूर्वरजाका लागि नेपालमा जनमत बनाउन सम्पूर्ण प्रयास लागइरहेको छ त?

त्यसपछि बुधबार पोखरामा भएको प्रदर्शनमा पनि ठूलो धनराशीको खर्च गरिएको छ र सो खर्च भारतका कुनै संस्थाका तर्फबाट उपलब्ध गराइएको विवरण नेपालका सुरक्षा निकायका जासुसी युनिटहरुले संकलन गरेको बताइएको छ।

छिमेकी मुलुक भारत अहिलेको नेपालको नेतृत्व गरिरहेको नेकपाका अध्यक्ष केपी ओलीको सरकारलाई जुनसुकै विधि प्रयोग गरेर पनि सत्ताच्युत गर्न चाहन्छ।

नेपालको इतिहासमै पहिलोपल्ट कुनै पनि शासकले भारतसँग स्पष्ट कुरा राख्दै देशको सार्वभौमसत्ताका बारेमा अडान राखेका छन् भने त्यो केपी ओली नेतृत्वको सरकार नै हो भन्ने कुराले नेपाललाई सधैं आफूमातहतको मुलुक ठान्ने भारतीय हिन्दुवादी शासकलाई घोचेको छ, भित्रभित्रै पोलेको छ भन्दै नेपाली सुरक्षा निकायका जासुसहरुले भारतीय ग्रयाण्ड डिजाइनमा पूर्वराजा ज्ञानेन्द्रका पक्षमा प्रदर्शनहरु गर्ने एकातिर रणनीति बनाएको सुइको पाएका छन् भने अर्कातिर नेकपाभित्रबाटै ओलीलाई निकालेर सत्ताबाट मिल्काउने रणनीतिले पनि तीब्रता पाएको छ।

कुनै अन्यथा भएन भने यही पुस महिनभित्र नेकपामा विभिजन आउने र नेपालले संवैधानिक संकट व्यहोर्दै अस्थिर राजनीतिको सामना गर्नुपर्ने गरी भारतले आफ्ना गोटीहरुलाई परिचालन गरेको छ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई सत्ताच्युत गर्ने गरी भारतीय सत्तालाई आश्वासन दिएको र आफ्नो नेतृत्वको सरकार बनाउन सहयोगको माग गरेको रिपोर्ट पनि नेपालका गुप्तचरहरुले तयार गरेका छन्। नेकपामा सचिवालयस्तरमा भएको तीव्र विभाजनले यो कुराको संकेत गरिसकेको छ।

तर, स्थायी समिति र केन्द्रीय समितिमा पुग्नु पर्ने अवस्था आइलागे प्रचण्ड यो कदममा कत्तिको सक्षम हुन्छन् त्यो समयले नै देखाउने छ। किनकि, प्रधानमन्त्री ओलीले सचिवालयको केही दिनमै हुने बैठक लगत्तै उत्तेजनाबस् संसदकै विगठन गर्ने र दलविभाजनसम्बन्धी अध्यादेश ल्याएर नेकपा एमाले पुनर्गठन गर्ने सम्भावन पनि कम छैन।

ओलीको यो कदमले पनि अन्तत दुईतिहाइ बहुमतसहितको नेकपाको शत्तिशाली संसदलाई सदाका लागि समाप्त गरिदिनेछ र वर्तमान सरकारले उठाएको नेपालको नयाँ नक्सासम्बन्धी कुरालाई पनि सजिलै किनारा लगाउन सकिने विश्वास भारतीय पक्षले राखेको बुझ्न कठिन छैन।

सत्ताको केन्द्रमा प्रचण्ड र सडकमा पूर्वराजा ज्ञानेन्द्रको उपस्थितिले नेपालको राजनीतिलाई अनौठो मोड दिने प्रयास गरेको छ। के यो दरबारको राजनीति गर्ने नयाँ शैली हो? केही महिनाअघिको भारत भ्रमणका क्रममा त्यहाँका ठूला नेता र अन्य विदेशी उच्चपदस्थहरुसँग समेत गोप्य राजनीतिक सम्बाद गरी भारतीय भूमिमा अर्को सहमति गरेर स्वदेश फर्किएको र राजावादी समूह त्यसयता केही न केही राजनीतिक परिवर्तन हुने आशामा क्रियाशील रहेको देखिन्छ।

तर, ज्ञानेन्द्रले गरेको सहमति के थियो र भारतीय आर्थिक सहयोगमा नेपालका राजाका पक्षमा प्रदर्शनहरु गरिएका हुन् त्यो कुरा भने खुल्न सकेको छैन। गद्दी पुनप्राप्तिका लागि राजा ज्ञानेन्द्रले मुलुकको राष्ट्रिय सुरक्षा तथा कुटनीतिको बागडोर के भारतीयको हातमा सुम्पन तयार भएका हुन्? होइन भने भारतीय सत्ता किन पूर्वरजाका लागि नेपालमा जनमत बनाउन सम्पूर्ण प्रयास लागइरहेको छ त?

यी यावत प्रश्नहरु उठेपनि पूर्वराजा ज्ञानेन्द्र मौन बसेका छन्। तिहारको शुभकामना दिने क्रममा उनले मुलुक अभिभावकविहीन भएको भन्दै राजसंस्था हटाउनु अनुपयुक्त भएको तर्क घुमाउरो पाराले गरेका थिए। त्यसयता उनको कुनै पनि धारणा आएको छैन बरु उनका पक्षमा बुटबल र पोखरामा प्रदर्शनहरु गरिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *