दुर्घटनाको डिलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

डिसी नेपाल
१६ मंसिर २०७७ २१:५९

काठमाडौं। तत्कालिन एमाले र माओवादीबीच एकीकरण भएर भर्खर बामे सर्दै गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भी दुर्घटनाको डिलमा पुगेको छ। सत्तारुढ दल नेकपा भित्र चर्केको आन्तरिक विवाद उत्सकर्षमा पुग्दा नेकपा नै दुर्घटनामा पर्ने जोखिम बढेको मंगलबारको पार्टी सचिवलाय बैठकको माहोलले देखाएको छ।

२०७६ जेठ ३ गते तत्कालिन एमाले महासचिब मदनकुमार भण्डारीको स्मृति दिवसको अवसर पारेर एकीकण भएपछि जन्मेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले विभाजनको दिशातर्फ बढिरहेको नेकपाका शीर्ष नेताहरुले नै बताउन थालेका छन्।

जसरी पार्टीमा दुई अध्यक्ष र नाम पनि दुई पटक जोडिएको छ, त्यसरी नै दुई अध्यक्षबीच तिक्तता पनि बढेको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेकपाको औपचारिक बैठकमै भनाभनको स्थिति देखिएपछि नेकपा भित्रको हार्दिकता पनि विस्तारै सकिँदै गएको नेकपा नेताहरुले बताएका छन्।

नेकपाको सचिवालयमा हाल छलफलका लागि भन्दै ६ वटा दस्तावेज छन्। दुई अध्यक्षले एकअर्कालाई लेखेका पत्र, पार्टी आन्तरिक निर्देशन, दुई अध्यक्षले छुट्टा छुट्टै पेश गरेको राजनीतिक प्रस्ताव र प्रचण्डलगायत पाँच जना सचिवालय सदस्यले पार्टी बैठकको माग गर्दै दिएको निवेदन हाल नेकपाको सचिवालयमा छलफलरत छन्।

मंगलबारको बैठकमा प्रचण्डले पेश गरेको एकल प्रस्ताव र ओलीले पेश गरेको जवाफी प्रस्तावमाथिको छलफल शुरु हुने कार्य सूची थियो। तर, अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नै हुन नसक्ने बैठकको शुरुमै बताएपछि मंगलबारको बैठकको माहोल निराशाजनक रहेको एक सचिवालय सदस्यले बताएका छन्। बैठकमा ओलीले प्रचण्डले ल्याएको प्रस्ताव विधिवत् रुपमा पनि नआएको र कुण्ठामात्र भएको भन्दै त्यस्तो दस्तावेजमाथि पार्टी कमिटीमा छलफल हुन नसक्ने भन्दै सो प्रस्ताव पेश गर्ने अध्यक्ष प्रचण्डले माफी माग्नुपर्ने बताएका थिए।

ओलीले माफीको कुरा उठाएपछि दुई अध्यक्षबीच भनाभनको स्थिति आएको एक सचिवालय सदस्यले बताए। प्रचण्डले पेश गरेको प्रस्तावमा ओली सामन्ती। भ्रष्टाचारीको संरक्षक भएको जस्ता दजर्नौ आरोप लगाइएको छ भने ओलीले पेश गरेको जवाफी प्रस्तावमा प्रचण्डलाई विदेशीको इशारामा चलेको आरोप लगाइएको छ।
प्रचण्डको प्रस्तावमा ओलीले आत्म आलोचनासहित त्याग गर्नुपर्ने भनिएको छ भने ओलीको प्रस्तावमा त्याग गर्ने नभई प्रचण्डले माफी माग्नुपर्ने भनिएको छ। परस्पर दुई विरोधी प्रस्ताव नेकपाको सचिवालयमा छलफल मंगलबार शुरु हुँदा नेकपा गम्भीर दुर्घटनाको डिलमा पुगेको विश्लेषण हुन थालेको छ।

मंगलबारको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले यस्तो आरोपप्रत्यारोप गर्ने बैठकको औचित्य नहुने र यसले पार्टी विभाजनलाई बल पुग्ने विचार राखेको बताइएको छ। प्रचण्डले बुधबार पनि बैठक बस्ने सुनाएपछि ओलीले बुधबारको बैठकमा सहभागिता नजनाउने संकेत दिएको एक सचिवालय सदस्यले बताएका छन्। बुधबारको बैठक नेकपाको महत्वपूर्ण ठानिएको छ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच विवाद चर्किएको छ। ओलीलाई ९ सदस्यीय सचिवालयका महासचिब विष्णु पौडेल, रामबहादुर थापा र ईश्वर पोखरेलले साथ दिँदै आएका छन् भने प्रचण्डलाई वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका छन्।

बुधबारलाई पार्टीको सचिवालय बैठक बोलाइएको छ भने बिहीबारका लागि स्थायी कमिटीको बैठक यसअघि नै तय भइसकेको छ। नेकपामा जति जति पार्टी कमिटीका बैठक बस्ने छन् विवाद झन चुलिँदै जाने देखिएको छ। े




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *