अरूको घर र सम्पत्ति जलाउनेले आत्ममन्थन गरून्: नेता माधव नेपाल

डिसी नेपाल
१७ साउन २०८३ १४:२८

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नयाँ पुस्ताले मुलुकको इतिहास र अग्रजहरूको योगदानलाई बुझेर सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।

जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘जेनजी आन्दोलन’का क्रममा भएका आगजनी र विनाशलीलाप्रति तीव्र दुःख व्यक्त गरे।

आन्दोलनका क्रममा महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन तथा नेताहरूका निवासमा आगजनी भएको उल्लेख गर्दै नेता नेपालले त्यसबाट मुलुकको राजनीतिक र बौद्धिक सम्पदामा अपूरणीय क्षति पुगेको बताए।

नेकपा एमालेको पुस्तकालय तथा त्यहाँ रहेका बहुमूल्य पुस्तकहरूसमेत नष्ट भएको भन्दै उनले प्रतिष्ठानले समेत त्यसको नकारात्मक असर भोग्नुपरेको जानकारी गराए।

मुलुकको स्वाभिमान र लोकतन्त्रका लागि योगदान पुर्‍याएका योद्धाहरूलाई बिर्सनु लाजमर्दो विषय भएको टिप्पणी गर्दै उनले पुरानो पुस्ताको योगदानलाई कदर नगर्ने संस्कारले समाजलाई सही दिशामा नलग्ने स्पष्ट पारे।

समाजमा सहिष्णुता, सम्मान र जिम्मेवारीको संस्कृति विकास हुनुपर्नेमा जोड दिँदै उनले विनाशकारी बाटो छाडेर आत्ममन्थन गर्न नयाँ पुस्तालाई आग्रह गरे।

अरूको घर, सम्पत्ति र परिवारमाथि हिंसा गर्दा आफ्नै घर-परिवारमा त्यस्तै विपत्ति परे कस्तो महसुस हुन्थ्यो भनेर सोच्न आग्रह गर्दै नेता नेपालले सबै पक्षलाई हिंसा र अराजकताको राजनीतिबाट टाढा रहँदै सही र गलतको समीक्षा गर्न आह्वान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *