ओलीले प्रधानमन्त्री रहने भए अध्यक्ष छाड्नैपर्छः देवेन्द्र पौडेल

डिसी नेपाल
१८ मंसिर २०७७ १५:३७
100
Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन्।

रिपोर्टर्स क्लबको साक्षात्कारमा बिहीबार बोल्दै पौडेलले एक पद छाड्ने बाहेकमा कुनै सम्झौता नहुने दाबी गरे । पार्टीभित्रको समस्यालाई निकास दिनका लागि ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्र लिनुपर्ने उनको भनाइ थियो।

‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ। एक पद मात्रै लिनुपर्छ। अब ओलीसँग सम्झौता हुँदैन,’ पौडेलले भने। पौडेलले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताए। ‘पार्टी फुटाउनु हूँदैन, एक बनाउनैपर्छ,’ उनले भने।

पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने पौडेलको भनाइ छ। उनले ओलीले पार्टीको निर्णय मान्नुपर्ने भन्दै पार्टीले सरकार चलाउने कुरा स्वीकार गर्नुपर्ने बताए।

‘पार्टीभित्र निकास दिन अध्यक्ष ओलीले भुमिका खेल्नुपर्छ,’ पौडेलले भने। पौडेलले पार्टी विवादको समाधान जतिसक्दो निकाल्नुपर्नेमा जोड दिए। ओलीले समस्या समाधानको जिम्मा लिनुपर्ने समेत बताए।

नेकपा विवादले संकटपूर्ण अवस्था सृजना गरेको भन्दै उनले अब समस्या समाधान गर्ने जिम्मा ओलीले लिनुपर्ने बताए। सचिवालय बैठकमा पेश भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि गहन छलफल गरेर मात्रै निकास निस्कने उनको भनाइ थियो। त्यसका लागि ओली तयार हुनुको विकल्प नभएको पौडेलले बताए।

दुवै अध्यक्षको प्रतिवेदनलाई छलफलको विषय बनाउँदा नै विवाद समाधानको उपाय भेटिने उनको भनाइ छ। प्रतिवेदन खारेज वा फिर्ताको माग उचित नभएको उनले बताए। छलफलपछि बरु संयुक्त प्रतिवेदन बनाउन सकिने उनको तर्क छ। पौडेलले भने, ‘ओली र दाहालबीच मिल्नुको विकल्प छैन।’

फरक प्रसंगमा पौडेलले तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गर्नु गलत भएको बताएका छन्। “लोकतन्त्र हाम्रो जीवनपद्धति हो, पौडेललाई नियन्त्रणमा लिन दुखद कुरा हो,” उनले बताए।

वरिष्ठ नेतालाई सम्मान गर्नुपर्ने भन्दै उनले तनहुँको घटनामा पार्टीको संलग्नता नरहेको दावी गरे। “पार्टीको संलग्नता छैन, जिल्ला प्रशासनको काम हो। कार्यक्रममा रोक लगाउनु हुँदैनथ्यो। निषेधाज्ञा जारी गर्नु गलत हो।” उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *