ऐँसेलुखर्कका सबै विद्यालयको कक्षाकोठा धुलोरहित बनाइँदै

डिसी नेपाल
३० मंसिर २०७७ ९:३६
72
Shares

खाेटाङ । ऐँसेलुखर्क गाउँपालिकाले विद्यालयको कक्षाकोठालाई धुलोरहित बनाउने तयारी गरेको छ। गाउँपालिकाले ढुङ्गामाटोबाट बनाइएका विद्यालयका कक्षाकोठालाई प्लाष्टर गर्दै धुलोरहित बनाउने तयारी गरेको हो। चालु आर्थिक वर्षभित्र सबै ४३ सामुदायिक विद्यालयका कच्ची भवनका कक्षाकोठालाई धुलोमुक्त बनाउने गरी काम अघि बढाइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए।

“गाउँपालिकामा २७ प्रावि, आठ आधारभूत र आठवटा मावि छन्”, उनले भने, “पठनपाठनका क्रममा छात्र/छात्राको शरीरमा धुलो र फोहरमैला लाग्नबाट जोगाउँदै स्वच्छ शैक्षिक वातावरण बनाउन गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयका कक्षालाई धुलोरहित बनाउने अभियान चलाइएको हो।”

कक्षाकोठालाई धुलोमुक्त बनाउन गाउँपालिकाले मङ्सिर २१ गते सामुदायिक विद्यालयलाई प्रस्ताव आह्वान गरेको थियो। कक्षाकोठालाई धुलोमुक्त बनाउन भुइँमा र भित्तामा प्लाष्टर गरिने गाउँपालिकाले जनाएको छ। कक्षाकोठा प्लाष्टर गर्नका लागि लाग्ने अनुमानित रकम माग गरेका आधारमा आर्थिक सहयोग उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। गत वर्ष केही विद्यालयको कक्षा धुलोरहित बनाइएकामा चालु आर्थिक वर्ष सबै कक्षालाई धुलोरहित बनाउने अभियान थालिएको गाउँपालिका प्रमुख निरौलाले बताए। चालु आव ३२ विद्यालयको धुलाम्मे कक्षामा प्लाष्टर गर्ने/गराउने तयारी भइरहेको जनाइएको छ। यसका लागि विद्यालयलाई आगामी पुस ५ गतेभित्र प्रस्ताव पेश गर्न भनिएको गाउँपालिकाले जनाएको छ।

यसैबीच गाउँपालिकाले सबै माविमा इ–लाइब्रेरीको व्यवस्था गर्ने भएको छ। पुस्तकलाई व्यवस्थापन गर्न असहज भएको सन्दर्भमा गाउँपालिकाले आठ माविमा तीन हजार २०० पुस्तक भएको एक/एक वटा इ–लाइब्रेरी स्थापना गर्न लागेको हो। इ–लाइब्रेरीमा विभिन्न कक्षाका पाठ्यपुस्तक, सन्दर्भ सामग्रीदेखि अन्य विभिन्न विषयका पुस्तक राखिने गाउँपालिका प्रमुख निरौलाले बताए। इ–लाइब्रेरी स्थापनाका लागि गाउँपालिकाले रु चार लाख ५० हजार रकम विनियोजन गरेको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *