काठमाडौँको तापक्रम २ डिग्रीमा झर्‍यो, अझै घट्ने क्रममा

डिसी नेपाल
१ पुष २०७७ १२:१०
52
Shares

काठमाडाैं । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ। यसअघि मङ्गलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो। तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ।

काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ। यसअघि सोमबार भने काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव शून्य डिग्री मापन भएको थियो। मौसमविद् समीर श्रेष्ठका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ। “अबको केही दिन तापक्रम घटबढ भइरहनेछ ।” श्रेष्ठले भने,“मौसमविद्का अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ।” पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ। चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ।

चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रहेको छ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव १ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस रहेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.