सर्पदंशको उपचारमा भारतको भर पर्नुपर्ने बाध्यताको अन्त्य हुने
सर्लाही । जिल्लाको लालबन्दी नगरपालिका–६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले विषालु सर्प पाल्नका लागि खरीद गरेको जग्गा खाली गर्ने काम अन्तिम चरणमा पुगेको छ। विषालु सर्पपालनका लागि खरीद गरेको साढे आठ बिघा जग्गा खाली गर्ने काम अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका निर्देशक उमेश बरालले किसानलाई जग्गा खाली गराउन अग्रिम सूचना दिइएकामा हाललाई रुख, बोटबिरुवा आदि हटाइएको भए पनि केही जग्गामा उखु बाली भएको र किसानको उखु कटानको चलानसमेत नआइपुगेको गुनासो आएपछि किसानको वर्षौंको मेहनतलाई मध्यनजर गर्दै खाली गर्न केही समय थप गरिएको बताए। केही दिनमा अर्को सूचना निकाली ठेक्काको प्रक्रिया र जमीन सम्याउने कामसमेत एक साथ अगाडि बढाइने उनले बताए।
नेपालभित्र ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न नसकेको र सर्पदंशको उपचारमा पनि भारतसँग निर्भर हुनु परिरहेको अहिलेको अवस्थालाई मध्यनजर गर्दै प्रतिष्ठानले स्वदेशमै ल्याब स्थापना गर्न लागेको हो। एन्टी स्नेक भेनम उत्पादन तथा अनुसन्धान परियोजनाका लागि सङ्घीय, प्रदेश र लालबन्दी नगरपालिका गरी तीनवटै निकायसँग सम्झौता गरिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष एवं झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताइन्।
प्रतिष्ठानले बोलपत्र आह्वान गरेपछि दर्ता हुन आउने संस्थालाई प्रक्रिया मिलाएर स्वीकृति गर्नुपर्ने थप काम बाँकी रहेकाले क्रमागतरुपमा फागुनको पहिलो सातादेखि परिसरसहित अस्पताल भवन र अन्य संरचना निर्माणको काम अगाडि बढाइने अध्यक्ष पन्तले बताइन्। उनका अनुसार दुई वर्षभित्र भवनलगायतका सबै संरचना बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्नेछ। यसरी उत्पादन गरिने विष शुरुमा भारतका ल्याबमा पठाइ ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाउने योजनामा आफू रहेको अध्यक्ष पन्तले बताइन्।
नेपालको विभिन्न भूभागबाट ल्याइने घोडा र सर्प संरक्षणका लागि प्रतिष्ठानले थप योजना ल्याउनेछ। “विश्व बजारमा माग उच्च रहेको उद्योग र अनुसन्धान केन्द्र नेपालमा सञ्चालन हुनु देशका लागि गौरवको कुरा हो।’’ स्थानीयस्तरमै सयौँको सङ्ख्यामा रोजगारीको अवसर सिर्जना हुनुका साथै लाखौँ मानिसको जीवनमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष पन्तको विश्वास छ।
विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा मात्र बर्सेनि दुई हजार ५०० भन्दा बढी मानिसको ज्यान जाने गरेको छ। विषालु सर्पले डसेको एक जना बिरामीलाई औसतमा १५ देखि २० भायल एन्टी भेनम चाहिन्छ। नेपालका सबै क्षेत्रका लागि आवश्यकतानुसार वार्षिक १० लाखसम्म भायल एन्टी भेनम आवश्यक पर्ने विज्ञले बताएका छन् । हाल नेपालमा सर्पको विषविरुद्धको औषधि भारतबाट आयात हुन्छ। रासस







डिसी नेपाल








Facebook Comment