अहिलेकाे अवस्थामा जनता आफैँ जिम्मेवार हुनुपर्छः पूर्वराष्ट्रपति यादव

डिसी नेपाल
१६ पुष २०७७ १८:४७
116
Shares

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले सबै मिलेमा अहिलेको समस्याको समाधान सम्भव हुने बताएका छन्। विसं २०७२ मा स्थापित तेज–तीर्थ ट्रष्टले विहिबार आयोजना गरेको सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले सबैले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए । सबैले आआफ्नो जिम्मेवारी बोध गरेमा नै देशको भलो हुने उनको भनाइ थियो । अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएको छ भन्दै उनले आआफ्नो भूमिका निर्वाह गर्न सबैमा आह्वान गरे ।

“सबैको विश्वास अदालतमाथि टिकेको छ, न्याय होला भनेर म पनि आशावादी छुँ”, डा यादवले भने । बिपीको मेलमिलाप नीतिको अहिले पनि महत्व भएको बताउँदै डा यादवले राष्ट्रिय परिस्थिति बिग्रिरहेका अवस्थामा मेलमिलापको नीति अत्यावश्यक भएको उनको भनाइ थियो । अहिलेका अवस्थामा प्रतिपक्षको अवस्था कमजोर देखिएको भनी चिन्ता व्यक्त गर्दै उनले लोकतन्त्रमा पार्टी खम्बाका रुपमा रहने उल्लेख गरे । “अहिलेका अवस्थामा जनता जिम्मेवार हुनुपर्छ, पार्टी झन् जिम्मेवार बन्नुपर्ने हुन्छ”, डा यादवले भने, “अहिलेको अवस्थामा सबै सचेत बन्नुपर्छ । ” स्वस्थ विदेश नीतिको आवश्यकतामा जोड दिँदै उनले राष्ट्रको जगेर्ना गर्न पनि त्यस्तो नीति आवश्यक भएको बताए ।

सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले ‘मानवाधिकार तथा लोकतन्त्र पुरस्कार’ प्रजातन्त्र सेनानी शिव कङ्गाल, ‘जुजुभाइ नानीमैजु पुरस्कार’ इतिहासकार योगेन्द्रमान श्रेष्ठ र कवयित्री नारायणदेवी श्रेष्ठलाई प्रदान गर्दै पत्रकारितामा योगदान दिएवापत राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक निर्मला आचार्य र ‘हाम्राकुरा डटकम’का प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सम्मान गरे ।

हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा प्रदान गरिँदै आएको उक्त पुरस्कार र सम्मान यस वर्ष कोरोना भाइरसको महामारीका कारण प्रदान गर्न ढिला भएको ट्रष्टले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.