राष्ट्रपति संस्थामाथि अपमान खेदजनक छः सरकारका प्रवक्ता गुरुङ

डिसी नेपाल
१७ पुष २०७७ २३:२३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आँच पुर्याउने गरी सडकमा नाराबाजी भएकामा आपत्ति जनाएका छन् । सिंहदरबारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले राष्ट्रपतिमाथि आक्षेप लगाउने अक्षम्य काम गरेर संविधान, कानून र राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने प्रयास भएको जनाउँदै राजनीतिक दल र समूहलाई जिम्मेवाररुपमा प्रस्तुत हुन अनुरोध गरे ।

राजनीतिक दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भइरहेको बताउँदै सरकारका प्रवक्ता गुरुङले भने, “विनाराजनीतिक एजेन्डा राजनीतिक दलहरुले निर्वाचनको तयारीका लागि नै सडक आन्दोलन गरिरहेका छन्, तिनीहरुले निर्वाचन भएरै छाड्छ भन्ने मनोविज्ञान जनतालाई दिन नै आन्दोलन गरिरहेका हुन् ।”

मुलुक निर्वाचनमा गइसकेको जनाउँदै मन्त्री गुरुङले राजनीतिक दलदेखि नागरिक समाज, पत्रकारलगायत सबै पेशा र समुदायलाई निर्वाचनका लागि तयार हुन आह्वान गरे । उनले निर्वाचन आयोगलाई सघाउन सरकारले आवश्यक पर्ने कार्य थालिसकेको पनि जानकारी दिए ।

सरकारका प्रवक्ता गुरुङले सरकारले संविधानअनुसार पूर्णअधिकारसहितको कार्य गरिरहेकाले कर्मचारी तथा कुनै पनि वर्ग, समुदायलाई सरकारको कामकारवाहीप्रति भ्रममा नपर्न अनुरोध गरे ।

ताजा जनादेश अहिलेको आवश्यकता

मन्त्री गुरुङले ताजा जनादेश अहिलेको आवश्यकता भएको बताएका छन् । उनले सरकारले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गरेको जानकारी दिए । निर्वाचनका लागि निर्वाचन आयोगले तयारी गरिरहेको मन्त्री गुरुङले उल्लेख गरे । संसद् पुनःस्थापना होइन ताजा जनादेशमा जानुपर्ने अहिलेको आवश्यकता भएकाले राजनीतिक दललाई सडक विरोधमा भन्दा चुनावी तयारीमा जुट्न प्रवक्ता गुरुङले आग्रह गरे ।

वर्तमान सरकारलाई संवैधानिक तथा कानूनी मान्यता भएकाले कोही पनि भ्रममा पर्न नहुने उनको भनाइ थियो । अहिलेको सरकार काम चलाउ हो कि भन्ने खालका प्रश्न केही पार्टी र तिनका समूहले उठाउने गरे पनि कोही पनि भ्रममा नपर्न मन्त्री गुरुङले अपिल गरे ।

नेपाल सरकारले गरेका निर्णयमा कुनै पश्न उठाउन नमिल्ने उनले बताए । सरकारले चालेको पछिल्लो कदम सही भएको मन्त्री गुरुङको भनाइ थियो ।
पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले गोरखापत्र संस्थानमा पत्रकार गोपाल खनाललाई सल्लाहकार सम्पादकका रूपमा थप दुई वर्षका लागि निरन्तरता दिने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए । यस्तै मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बलको मौजुदा जनशक्तिबाट सशस्त्र प्रहरी कर्मचारीहरु रेलवे सुरक्षामा खटाउन स्वीकृति दिने, प्राविधिक सहायक रथि डा देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथिमा बढुवा गर्ने, प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट वरपर रहेका ३५ घर तथा ७५ विघा जग्गा प्राप्ति गर्न स्वीकृति दिने, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्दराज ढकाललाई काजमा पठाउने, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचीमा हेरफेर गर्न स्वीकृति दिनेलगायत निर्णय गरेको पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले जानकारी दिए ।

सो अवसरमा प्रवक्ता गुरुङले रेडियो नेपालले देशभर सुन्न पाउने गरी आजदेखि मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण आरम्भ गरेकामा हार्दिक धन्यवाद दिए । प्रत्यक्ष प्रसारणले जनताले घरघरमै सरकारका काम कारवाही तथा निर्णयबारे सहजै जानकारी पाउन सक्ने उनले उल्लेख गरे । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *