पशुपतिनाथलाई चिसोबाट जोगाउन आज धनुर्मास पूजा गरिने

डिसी नेपाल
२५ पुष २०७७ ६:४२
92
Shares

काठमाडौँ। पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार २४ सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिने भएको छ। पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मास अनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ। भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवं रातभर पूजा गरिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।

यही पुस १५ देखि अगामी माघ २९ सम्म सौर र चान्द्र दुवै गणना पद्धति अनुसार पुस महिना परेको छ। पार्वतीसहितका शिवजीलाई जाडोबाट जोगाउन धनुर्मास पूजा गर्ने परम्परा बसेकाले पूजापछि शरीरमा ताप दिने खाद्य पदार्थ चाकु, सखर र खिचडी लगायत प्रसादका रुपमा चढाउने परम्परा छ। यस पूजामा पशुपतिनाथका मूलभट्ट र पशुपतिनाथ अमालकोट कचहरीका द्वारे लगायत सहभागी हुनुपर्ने विधि छ।

शनिबार बिहानदेखि आइतबार बिहानीपखसम्म धनुर्मास पूजा गरेपछि आइतबार दिनभर मूल मन्दिर भक्तजनका लागि बन्द गरिने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए। आइतबार बिहान छ बजेदेखि शिवपार्वती पनि घाम ताप्न जाने विश्वासमा मन्दिर बन्द गर्ने गरिएको हो। धनुर्मास पूजाका दिन पशुपतिनाथमा नित्य एवं नैमित्तिक भोगसमेत लाग्दैन ।
मानव शरीरमा भएका विभिन्न चक्रलाई खुसी पार्न महिना अनुसारका खाद्य परिकारको वर्णन शास्त्रमा गरिएको छ। जाडोले धनुजस्तै कुप्रिने बेलामा गरिने पूजा भएकाले धनुर्मास पूजा भनिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा विदुर पौडेल बताउँछन्। पूजापछि भगवान शिव पार्वतीसहित कैलाशमा घाम ताप्न जाने भएकाले ढोका बन्द गर्ने गरिएको उनले सुनाए। तन्त्र शास्त्रमा धनुर्मास पूजा विधिका बारेमा उल्लेख गरिएको जनाइएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *