आत्महत्या रोक्न एनआरएनएद्वारा भर्चुअल तालिम

डिसी नेपाल
२७ पुष २०७७ १४:१५

काठमाडौं। कोभिड–१९ सँगै प्रवासमा रहेका नेपालीहरुमा आत्महत्याका घटनाहरु बढ्दै गएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिले एक अभिमुखीकरण तालिम आयोजना गरेको छ। एनआरएनए स्वास्थ्य समितिका संयोजक डा.संजीव सापकोटाका अनुसार कोभिड–१९ का कारण विदेशमा रहेका नेपालीहरुमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको र आत्महत्याका घटनाहरु पनि बढेकाले संघले यस्तो तालिम सुरु गरेको हो।

विश्वव्यापी मृत्युको १५औँ कारकमा सूचिकृत आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे आधारभूत प्रशिक्षण विषयगतविज्ञ चिकित्सकहरुले सहजीकरण गरेका थिए। उक्त तालिममा मध्यपूर्वका कतार, युएई, साउदी अरब, ओमान र मलेसिया, दक्षिण कोरिया, जापान, युकेलगायत विश्वका श्रम गन्तव्य मुलुकहरुबाट नेपालीहरुले सहभागिता जनाएका थिए। जापानमा कार्यरत मनोचिकित्सक डा.विजय ज्ञवाली तथा नेपालमा कार्यरत डा.रन्जन थापाले नेपालबाट करिब चार घन्टा भर्चुअल विधिबाट प्रशिक्षण दिएका थिए।

नेपालमा बर्सेनि ६ हजारभन्दा बढी नेपालीहरुले आत्महत्या गरेको तथ्य सार्वजनिक गर्दै विगत वर्षहरुको तुलनामा आत्महत्या दर बढदै गएको र यसको रोकथामका लागि समाजका अगुवाहरुले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे प्रशिक्षण दिइएको थियो। वैदेशिक रोजगारीको क्रममा परदेशमा रहेका नेपालीहरुले आत्महत्या गर्ने क्रम बढदै गएकोले यसका कारण र रोकथामका लागि सामाजिक संस्थाहरु, अभियन्ताहरु, पत्रकारहरुले समस्या समाधानमा जिम्मेवारीपूर्वक काम गर्न सुझाइएको थियो।

समितिका संयोजक डा.संजीव सापकोटाले यो प्रशिक्षण जारी नै रहेको र प्रशिक्षण लिन इच्छुक व्यक्तिहरुले [email protected] मा इमेल पठाएर सम्पर्क गर्न भनेका थिए।

गत शुक्रबार बेलायतमा एक ३२ वर्षीय लोकप्रिय गायकले आत्महत्या गरेका थिए भने यसअघि पोर्चुगलमा अर्का नेपाली युवाले आत्महत्या गरेको थिए। समितिका अनुसार गत वर्ष नेपाल बाहिर कम्तीमा १० जना नेपालीहरुले आत्महत्या गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *