निर्वाचन आयोगको निर्णयबारे ओली समूहको ब्याख्याः पार्टीको फुट रोकियो, अब उनीहरुले माफी माग्नु पर्छ

डिसी नेपाल
१४ माघ २०७७ २०:१६
208
Shares

काठमाडौं। सत्तारुढ दल नेकपाको विभाजन सम्बन्धी विवादमा निर्णय गर्दै निर्वाचन आयोगले विभाजनलाई अस्वीकार गर्दै २०७५ जेठको दुई अध्यक्ष र ४४१ सदस्यी केन्द्रीय कमिटी रहेको नेकपालाई यथावत राख्यो।

अर्थात नेकपाको ओली समूहले विस्तार गरेको केन्द्रीय कमिटी पनि वैध भएन र प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीमाथि गरेको कारबाही र माधवकुमार नेपाललाई अध्यक्ष बनाउने गरेको निर्णयलाई पनि अवैध घोषणा गर्यो।

निर्वाचन आयोगको निर्णयलाई दुबै समूहले आफू अनुकुल ब्याख्या गरे पनि ओली समूह खुशी र प्रचण्ड–माधव समूह असन्तुष्ट देखिएको छ। ओली समूहका एक प्रमुख नेता उपप्रधानमन्त्री ईश्वर पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै खुशी व्यक्त गरेका छन्। साथै उनले निर्वाचन आयोगलाई धन्यवादसमेत दिएका छन्।

उनले निर्वाचन आयोगको निर्णयले दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड)बीचको सहमतिबाट मात्र पार्टीको निर्णय हुने प्रक्रियालाई वैधानिकता दिएको भन्दै एकल रुपमा गरिएका कुनै पनि गतिविधिलाई अवैध ठहर गरिदिएको बताएका छन्।

उनले लेखेका छन्, ‘तत्कालीन नेकपा (एमाले) र माओवादीबीच एकता गर्दाका समयमा गरिएको निर्णयका आधारमा मात्र अघि बढ्न सकिन्छ र त्यस विपरित गरिएका वा गरिने कुनै पनि निर्णय वा कामलाई चिनिदैँन भन्ने निष्कर्श दिएको छ निर्वाचन आयोगले।’

उपप्रधानमन्त्री पोखरेलले माधवकुमार नेपालको नाम उल्लेख नगरी उनीप्रति कटाक्ष गर्दै भनेका छन्, ‘पार्टी अध्यक्षको पदमा महिमा मण्डन हुन चाहनेहरूलाई पनि पार्टीको बैधानिक र औपचारिक मञ्च बाहेक सार्वजनिक चोक चौतारीमा बसेर यस्तो नगर र गर्न मिल्दै – मिल्दैन भन्यो निर्वाचन आयोगले।’

उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोगको निर्णयपछि अब कुकर्म गर्नेले माफी माग्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘जंगली महत्वाकांक्षा बोकेर यसबीचमा आम जनता र पार्टीका लाखौं कार्यकर्ताहरूलाई रूवाएर जे जस्ता (कूँ) कर्महरू गरिए – जे जस्ता आत्मघाती कामहरू गरिए – तिनलाई लिएर पश्चाताप गर्ने र क्षमा माग्ने काम गरिनुपर्छ सम्वन्धितहरूबाट।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *