सिरहा घटनाका मृतक गणेश यादवको परिवारसँग आठबुँदे सहमति

डिसी नेपाल
१६ साउन २०८३ ६:५८

जनकपुरधाम। सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवार र सरकारबीच आठबुँदे सहमति भएको छ।

लहानमा जिल्ला सुरक्षा समितिको बैठक सम्पन्न गरेपश्चात् गएराति मृतक यादवको गृहगाउँ सिरहाको औरही गाउँपालिकास्थित तुलसीयाही पुगेका गृहमन्त्री सुधन गुरुङले पीडित परिवारसँगको छलफलपछि उक्त सहमति भएको जानकारी दिए।

गृहमन्त्री गुरुङका अनुसार मृतकका बुबा, आमा तथा आफन्तजनसँग भएको गहन छलफलपछि घटनाको निष्पक्ष छानबिन गर्ने, दोषीलाई कडा कारबाही गर्ने, उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा मृतकका परिवारका सदस्यलाई निःशुल्क शिक्षाको सुनिश्चितता गर्नेलगायतका विषयमा सहमति जुटेको छ।

यसका साथै सरकारका तर्फबाट मृतकका आमा-बुबाको निःशुल्क उपचार गराइने र परिवारका सदस्यलाई रोजगारीको ग्यारेन्टी गरिने प्रतिबद्धतासमेत जनाइएको छ।

गृहमन्त्री गुरुङले गोलबजार घटनाको सत्यतथ्य छानबिनमा कुनै पनि किसिमको कमजोरी हुन नदिने दोहोर्‍याउँदै दोषी ठहरिने जो-कसैलाई कानुनको दायरामा ल्याएर कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।

सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोध स्वरूप गोलबजारमा आयोजना गरिएको प्रदर्शनका क्रममा गत साउन १४ गते गोली लागेर औरही गाउँपालिकाका गणेश यादवको मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *