कांग्रेसकाे क्रियाशील सदस्यता असार ७ गतेभित्र टुंगाे लगाउने तयारी
फाइल फोटो
काठमाडाैं। नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ।
कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि पनि नयाँ कार्यतालिका प्रस्ताव गरेको छ। कांग्रेसले यसअघि महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरे पनि कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित भएपछि नयाँ कार्यतालिकाबारे निर्णय गर्न केन्द्रीय समिति बैठक बोलाएको हो।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय असार ७ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने अवधि प्रस्ताव प्रस्तुत गरेका हुन्।
त्यसअघि विधानले तोकेको कार्यविधि बमोजिम क्रियाशील सदस्यताको नयाँ र नवीकरणका लागि यही फागुन २८ गते, क्रियाशील सदस्यता नवीकरणको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि चैत १० गते र नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय छानबिन समितिमा परेका उजूरी उपर छानबिन गरी केन्द्रमा पठाउनुपर्ने अवधि चैत मसान्तसम्म प्रस्ताव गरिएको छ।
सो समितिले गरेको निर्णय उपर परेको पुनरावेदन तथा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा परेका उजूरीसहित निर्णय गरी सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि जेठ मसान्त प्रस्ताव गरिएको छ।
यसैगरी समायोजन हुन बाँकी जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नुपर्ने अन्तिम अवधि यही फागुन १५ गते प्रस्ताव गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। केन्द्रीय कार्यसमितिको आज दिउँसो ३ बजे बस्ने बैठकमा सो बारेमा थप छलफल गरी टुङ्गो लगाइने पार्टी कार्यालयले जनाएको छ। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment