विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी
काठमाडौं। सरकारसँग वार्तामा बस्न तयार भएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ।
शनिबार विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गरी सरकारसँग वार्तामा बस्न सकारात्मक रहेको बताएका थिए। विप्लवले सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ता गर्न सरकारात्मक रहेको बताएका थिए।
विप्लव वार्ताका लागि सकारात्मक भएपछि सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने गरी गरेको छ। ‘उहाँहरु खुला राजनीतिमा आउँछु भनेर वार्ताका लागि तयार भएपछि सरकारले उहाँहरुमाथि लगाएको प्रतिबन्ध हटाउने विषयमा गृहकार्य भइरहेको छ,’ प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले भन्यो, ‘छिटै वार्ताको वातावरण बनाउने गरी सरकारले निर्णय गर्छ।’
विप्लव समूहलाई मुलधारको राजनीतिमा ल्याउन पटक पटकका प्रयास सफल भएको र अब केही दिन भित्रै विप्लव नेतृत्वको नेकपा खुला राजनीतिमा आउने वातावरण बनाउने तयारी भइरहेको स्रोतका भनाइ छ।
सरकारले दुई वर्ष अगाडि फागुन २८ गते विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो। विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको भन्दै २०७५ फागुन २८ गते साे समूहमाथि प्रतिबन्ध लगाएकाे थियाे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment