प्रचण्ड–नेपाल समूहलाई जसपा नेताको प्रश्न : तपाईँहरुको पार्टी कुन हो?

डिसी नेपाल
१३ फागुन २०७७ १२:५६

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि राजनीतिक भेटघाटका सक्रिय भएको नेकपाको प्रचण्ड–माधव नेपाल समूहले  जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका छन्।

बिहीबार नेकपा कार्यलय पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल तथा जसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठबीच छलफल भएको सजपा नेता केशव झाले जानकारी दिए।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको प्रचण्ड–नेपाल समूहले बिहीबार जसपा नेताहरुसँग छलफल गरेको हो।
उक्त छलफलमा जसपा नेताहरुले प्रचण्ड–नेपाललाई तपाइँहरुको कुन पार्टी हो भन्ने जिज्ञासा राखेका थिए।

‘हामीले प्रचण्ड र माधव नेपाललाई तपाइँहरुको कुन पार्टी हो भनेर जिज्ञासा राख्यौं,’ छलफल पछि संचारकर्मीसँग कुरा गर्दै जसपा नेता राजेन्द्र महताले भने, ‘कुन पार्टी प्रणाली चाहिएको त्यसका प्रष्ट हुन हामीले उहाँहरुलाई भनेका छौं।’

प्रचण्ड–नेपाल नेपाल समूहले जसपा नेताहरुसँग सत्ता समीकरणको प्रस्ताव गरेका थिए। जवाफमा जसपा नेताहरुले त्यो विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पार्टीको बैठकमा छलफल गर्ने बताएका थिए।

छलफलमा सहभागी जसपा नेता राजेन्द्र श्रेष्ठका अनुसार प्रचण्डले जसपा नेताहरुसँग सहकार्यको वातावरण बनाएर सत्ता समीकरणको प्रस्ताव राखेका थिए। जवाफमा जसपा नेताहरुल सत्ता समीकरण गर्दा त्यो गठबन्धन प्राकृतिक हुनुपर्नेमा जोड दिएका थिए।

जसपा अध्यक्ष महन्थ ठाकुरले समानुपातिक, समावेशिता, कस्तो गठबन्धन बन्ने हो भन्नेका स्पष्ट दृष्टिकोण आउनुपर्नेमा जोड दिएका थिए। उनीहरुले राजनीतिक रुपमा नेकपा विभाजन भएपनि कानुनी रुपमा एउटै रहेको भन्दै त्यसबारेमा स्पष्ट हुन आग्रह गरेका थिए।

नेता महताले संविधान बनाउँदा नै कांग्रेस, एमाले र माओवादीले सम्झौता भंग गरी मधेसी जनतामाथि गोली चलाएर संविधान बनाएको भन्दै संविधान बनाउने बेलामा नै प्रतिगमन भएको जनाएका थिए।

संविधानमा रहेका त्रुटि, कमिकमजोरी र संघर्ष गर्दै आएको उल्लेख गर्दै जसपा नेताहरुले अहिले पनि आफूहरु संघर्षमै रहेकाले सरकारमा सहभागी हुने विषयमा कुनै सोच नबनाएको जनाएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *