शाङ्घाईका क्याफेहरुमा रकुनदेखि सर्पजस्ता जीवजन्तु

डिसी नेपाल
१ चैत २०७७ १७:१५
148
Shares

शाङ्घाई । तपाइँलाई क्याफे भन्नेबित्तिकै दिमागमा कस्तो चित्र आउँछ? स्वाभाविक रुपमा क्याफेमा थरिथरिका कफी, चिया र हल्काफुल्का खानेकुरा राखिएका हुन्छन् । तर चीनको ठूलो शहर शाङ्घाईमा कतिपय क्याफे भिन्न किसिमका छन्, र तिनीहरुको संख्या बढ्दैछ भने तिनीहरुले बढीभन्दा बढी ग्राहकलाई आकर्षित गर्न थालेको छ ।

के तपाईंले लाट्टे कफी पिउँदै गर्दा रकून (बिरालोजस्तो स्तनपायी जङ्गली जनावर) को बच्चा टुप्लुक्क देखा पर्ला ? अथवा कापुचिनो कफी पिउँदै गर्दा सर्प बेरिन आइपुग्ला ? कुकुर वा बिराला पालिएका क्याफेका कुरा त बिर्सौं, शाङ्घाईका जीवजन्तु क्याफेमा आजभोलि अझ नयाँ अनौठा जङ्गली जीवजन्तु धेरै नै देखिन थालेका छन् ।

विभिन्न जीवजन्तुलाई हेर्दै, छुँदै कफी पिउने पागलपन यहाँका नागरिकमा अझै छ । जङ्गली जीवजन्तुबाट मानिसमा घातक कोरोनाभाइरस सरेको कुरा यहाँ भेला हुने मानिसले अचेल बेवास्ता गर्न थालेको प्रतीत हुन्छ ।

चीनको सर्वाधिक ठूलो शहर शाङ्घाईमा अहिले दर्जनौं यस्ता जीवजन्तु राखिएका क्याफे खुलेका छन् । यी क्याफेमा भेला हुने मानिसले जीवजन्तुसँग फोटो खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।

मध्य शाङ्घाईमा रहेको रकून क्याफेमा आठ वटा स्तनपायी रकून राखिएको छ । सबैभन्दा ठूलो रकूनको तौल करिब १० किलो छ । ग्राहकले चलाउन वा छुन खोजे यो जीव झ्यालको तलमाथि उफ्रिरहन्छ ।

“मलाई यो जीव अति राम्रो लाग्छ,” २७ वर्षीय भलिबल खेलाडी क्विन सियू भन्छन् । साथीले सामाजिक सञ्जालमा राखेको फोटो हेरेर आफूले क्याफेका बारेमा चाल पाएको उनले बताए ।

ग्राहकले यस क्याफेभित्र छिर्न प्रवेश शुल्क बापत १५ डलर तिर्नु पर्छ तर यो ठाउँ क्याफे नै हो भन्ने विषयमा बहस हुन थालेको छ । रकूनको व्यवहार अनुमान लगाउन सकिँदैन । तातो कफी पिइरहँदा रकूनले एक्कासी झम्टिएर तर्साउन सक्छ । फेरि, यी क्याफेमा मानिसका लागि खानेकुरा पनि खासै धेरै किसिमको पाइन्न ।

क्याफेका सञ्चालिका चेङ चेन गत वर्ष आफ्नो क्याफेमा रकून ल्याउँदा त्यसको व्यवहारका बारेमा खासै थाहा नपाएको बताउँछिन् । उनि भन्छिन्, यो मेरो पहिलो अनुभव थियो ।

‘‘यी रकूनहरु निकै रिसाहा पनि हुन्छन्’’, उनि भन्छिन्, “मेरो जिउमा यसले चिथोरेर धेरै ठाउँमा दाग बनाइदिएको छ ।”

यी ३६ वर्षीया क्याफे सञ्चालिका चेङलाई पनि मानिसले रकून किन पालेको भनेर प्रश्न गर्ने गरेको बताउँछिन् । उनको विचारमा मानिसले प्रश्न गर्नु स्वाभाविक हो किनभने यहाँ कुकुरलाई दिइने खानेकुरा खान दिइन्छ ।

चेङलाई जीवजन्तु पाल्ने पहिल्यैदेखि निकै ठूलो सोख थियो र उनका घरमा धेरैवटा कुकुर र बिराला छन् । उनलाई रकूनको पनि औधी माया लाग्छ । “सामान्यतया यहाँ कुनै ठोस नियम छैन । साँचो भन्नुपर्दा खासगरी चीनमा घरमा पालिने जीवजन्तु सम्बन्धी नियमहरु निकै कमजोर छन्,” उनि भन्छिन् ।

शाङ्घाईकै अर्को क्याफेमा सर्पहरु, छेपाराहरु र रङ्गीचङ्गी माउसुलीले ग्राहकलाई खुशी तुल्याउन प्रतिक्षा गरिरहेका छन् । यस क्याफेका सञ्चालक वाङ लिक्वुनको यस क्याफेमा ३० वटा सर्प छन् । यी सर्पहरुमा विष हुँदैन, तर यिनीहरुले मानिसलाई टोक्न सक्छन् । वाङको भनाईमा आजसम्म कुनै पनि ग्राहकलाई यी सर्पले डसेका छैनन् ।

टाङ नाम गरेकी एक ग्राहकले क्याफेले मानिसलाई आफूमा रहेको डर भगाउन मद्दत गरेको बताइन् । २७ वर्षीया ती ग्राहकले भनिन्, “यहाँ आएपछि मानिसले आफ्नो सोचाईमा परिवर्तन पाउन सक्छन् र सरिसृप प्रजातिका जीवजन्तु साँच्चिकै मायालाग्दा हुँदा रहेछन् ।”

तर विश्व जीव संरक्षणसँग आवद्ध वैज्ञानिक इभान सनले यी क्याफेप्रति आफूलाई निकै शंका लागेको बताए । “यी क्याफेमा जीवजन्तुको अवस्था निकै दयनीय हुने गर्दछ, र तिनीहरुले भयानक पीडा र दबाब महसुस गरेका हुन्छन् ।”

चीनका लागि वन्यजन्तु अभियानका व्यवस्थापक समेत रहेका सनले भने, “वन्यजन्तुसँग निकट अन्तक्र्रियाले पीडा र क्रुरता मात्र बढाउने होइन, यसले रोग पनि निम्त्याउँछ र मानिसमा सार्न सक्छ । जीवजन्तु राखिएका क्याफे जाने अधिकांश ग्राहक प्राणीलाई मन पराउनेहरु नै हुन्छन्, तर उनीहरुलाई जीवजन्तुको खानेबस्ने तौरतरिकाका बारेमा खासै जानकारी नहुने भएकाले मानिसलाई अप्रत्यक्ष असर पारिरहेको हुन्छ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *