वैदेशिक रोजगारीमा जाने र उद्यमी बन्न चाहनेलाई निःशुल्क सिप तालिम

डिसी नेपाल
५ चैत २०७७ १४:२९
152
Shares

काठमाडौं। वैदेशिक रोजगार बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभीटी)सँगको सहकार्यमा वैदेशिक रोजगारमा जान चाहने तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई लक्षित गर्दै निःशुल्क तालिम सञ्चालन गरेको छ। सो तालिम सिप सिकेर वैदेशिक रोजगारमा जान चाहने, विदेशबाट फर्किएका वा स्वदेशमा नै रोजगारी गर्न चाहनेहरुका लागी गरिएको हो।

तालिम अन्तर्गत कुक, वेटर, हाउस किपिङ, किचन सहयोगी, फ्रण्ट अफिस सहायक, सुरक्षा गार्ड, डकर्मी, हाउस पेन्टर, प्लम्वर सहायक, वेल्डर सहायक, जुनियर फर्निचर मेकर, व्यूटीसियन, जुनियर व्यूटिसियन, सटरिङ कार्पेन्ट्री, एसिस्टेण्ट स्काफोल्डर, ईलेक्ट्रिसियन आदि रहेका छन् ।

बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठका अनुसार हाल सञ्चालनमा रहेको एक सय ६० घण्टा समयावधिको सो तालिम लिन वैदेशिक रोजगारमा जान ईच्छुक भएमा पासपोर्ट बनाएको र रोजगारीका लागि विदेश जान चाहेको स्वघोषणा गरेको फारम भर्नुपर्ने छ। वैदेशिक रोजगारबाट समस्यामा परेर फर्केकाहरुलाई तालिममा विशेष प्राथमिकता दिइने जनाइएको छ।

सो सीप विकास तालिमलाई स्थानीय तहसँग पनि जोड्ने प्रयास गरिएको छ। यदि स्थानीय तहले तालिम सञ्चालन गर्ने स्थान उपलब्ध गराएमा स्थानीयस्तरमा रोजगारी उपलब्ध हुनसक्ने प्रकृतिको तालिम बोर्डसँग तालिम सञ्चालन गर्ने सम्झौता गरेको संस्थाले उपलब्ध गराउने छ। त्यस्तो स्थान नभएमा ति संस्थाहरुले आफ्नै तालिम केन्द्रमा पनि तालिम सञ्चालन गर्न सक्ने छन्।

बोर्डले सिटीईभीटीसँगको समन्वयमा तोकेको शुल्कमा एक महिनाको तालिम सकेकाहरुले राष्ट्रिय सीप परीक्षण बोर्ड (एनएसटीबी)ले लिने सीप परिक्षण उत्तिर्ण गरेमा सो सहभागिलाई तालिम लिंदा तिरेको शुल्क वैदेशिक रोजगार बोर्डले फिर्ता दिनेछ। यसका लागि तालिम अवधिमा ९० प्रतिशत हाजिरी तथा सीप परीक्षण उत्तिर्ण गरेको प्रमाणपत्र हुनुपर्ने अनिवार्य शर्त राखिएको छ।

एक महिने तालिम सकेकाहरुले लेभल १ को प्रमाणपत्र प्राप्त गर्ने छन्। यदि लेभल १ उत्तिर्ण गरेकाहरुले माग गरेमा लेभल २ को तालिम पनि यसैगरी प्रदान गर्न सकिने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जनाएका छन्।

विभिन्न विषयका तालिम सञ्चालनका लागि विभिन्न प्रदेशहरुमा विभिन्न तालिम प्रदायक संस्थाहरुसँग बोर्ड सचिवालय, सिटीईभीटी तथा ति संस्थाहरुबीच तालिम सञ्चालन सम्झौता भएको छ। बोर्डले सात हजार तीन सय ६० जनालाई सीप विकास तालिम दिने लक्ष्य राखिएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *