वनेपामा दन्त शिविरबाट २ सय लाभान्वित

डिसी नेपाल
२९ चैत २०७७ ८:५६
88
Shares

वनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ छत्रेबाँझस्थित दाप्चा स्वास्थ्यचौकीमा नेपाल भूतपूर्व सैनिक सङ्घ काभ्र्रेपलाञ्चोकले ‘दन्त शिविर’ आयोजना गरेपछि त्यहाँका २०० स्थानीय बान्सिदाले गाउँमा नै सेवा पाएका छन्। लायन्स क्लब अफ काठमाडौँ कञ्चनजङ्घा र समाज डेण्टल अस्पलतालको प्राविधिक सहयोगमा शुक्रबारदेखि दुईदिन आयोजना गरिएको शिविर शनिबार सम्पन्न भएको हो।

शनिबार ९० जनाले सेवा लिएको आयोजकले जनाएको छ। संस्थाका अध्यक्ष इन्द्रबहादुर दाहालका अनुसार शिविरमा डा अङ्कित ज्ञवाली, डा विवश राई, डा रविना शाक्यसहितको आठ सदस्यीय मेडिकल टिमले सेवा दिएको थियो। पहिलो दिन शुक्रबार ११० जनाले सेवा लिएको उनले बताए। नेपाली सेनाका पूर्वसहायक रथी डा प्रेमसिंह बस्न्यातले कार्यक्रममा गाउँमा रहेका बासिन्दाको सेवाका लागि आयोजना गरिएको कार्यक्रम प्रशंसायोग्य रहेको बताए।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति मधुप्रसाद आचार्यले दाँतको समस्या झेलिरहेका गाउँलेका लागि शिविर आयोजना गरेर ठूलो सहयोग पुर्याएको बताए। समस्या भएका दाँत निकाल्ने, भर्ने, सफा गर्नेलगायतका सेवा दिइएको शिविरमा सेवा लिनेहरुलाई दाँत माझ्ने मञ्जनसमेत वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष दाहालले बताए। सो कार्यसँगै सङ्घले आर्थिक सहयोग जुटाएर नेपाली कांग्रेस जिल्ला कार्यालयमा करिब रु १७ लाखको लागतमा महामानव विपी कोइरालाको अर्धकदको शालिक निर्माण गर्ने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *