राष्ट्रिय सभा उपनिर्वाचनको यस्तो छ निर्वाचन कार्यक्रम
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त रहेको एक सिटका लागि आगामी जेठ ६ गते हुने मतदानका लागि निर्वाचन कार्यक्रम बनाएको छ। आयोगले उम्मेदवारी दर्ता, छानविन, उम्मेदवारी फिर्ता, मतदान, मतगणनाका लागि कार्यतालिका सार्वजनिक गरेको हो।
आयोगका अनुसार वैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दावी विरोधको उजूरी दिने, वैशाख २२ र २३ गते निवेदन तथा उजुरी उपर छानविन र कारबाही गर्ने, वैशाख २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तथा मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख २५ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, वैशाख २६ र २७ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख २८ गते उम्मेदवारले नाम फिर्ता लिने र वैशाख २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।
तत्कालिन माओवादी केन्द्रबाट विजयी रामबहादुर थापा बादलले दल त्याग गरेपछि उनी पदमुक्त भएका थिए। हाल एमालेमा प्रवेश गरेका बादललाई एमालेले फेरि उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। तर, अरु दलले भने कुनै निर्णय गरेका छैनन्। राष्ट्रिय सभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउँछन्। अहिले अवस्थाअनुसार एमालेका उम्मेदवारले जित्ने अवस्था छ। तर, एमालेमा विद्रोह भए कुनै पनि उम्मेदवारले जित्न सक्ने देखिन्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment