पुनर्निर्माणमा खटिएका प्राविधिकका मागबारे समझदारी

डिसी नेपाल
१३ वैशाख २०७८ २२:४९
32
Shares

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारीहरु र विभिन्न माग अगाडि सारिरहेका पुनर्निर्माणमा खटिएका प्राविधिकहरुका प्रतिनिधिबीच छलफल गरी केही ठोस समझदारीहरु बनेका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आजको छलफलपछि उत्साहका साथ पुनर्निर्माणमा क्रियाशील हुने समझदारी बनेको बताए।

छलफलका क्रममा घाइते प्राविधिकहरुले पाउने भनी निश्चित भएको बिमा सुविधा हालसम्म प्राप्त नभएको प्राविधिकहरुबाट जानकारी गराइएको थियो । उक्त बिमा सुविधा उपलब्ध गराउन प्राधिकरणको प्रशासन महाशाखाले सम्बन्धित बिमा कम्पनीसँग आवश्यक समन्वय गरी प्राप्त गर्ने कुरालाई सुनिश्चित गर्ने समझदारी बनेको छ । प्राधिकरणले पुनर्निर्माणमा खटिएका सबै प्राविधिकहरुको बिमाका लागि प्रिमियम बुझाइसकेको छ ।

त्यसैगरी, केही समयअघि ओखलढुंगाको मोलुङ गाउँपालिका–७ मा कार्यरत इञ्जिनियर राजा शाहको दुःखद निधन भएकोमा उहाँको परिवारलाई सहयोग गर्नका लागि थप छलफल गरी पहल गर्ने समझदारी पनि बनेको छ ।

नेपाल सरकारले कोभिड–१९ को महामारीका कारण चालु आर्थिक वर्षको बजेटमा नै सबै कर्मचारीको प्रोत्साहन भत्ता कटौती गरेकाले पुनर्निर्माणमा खटिएका प्राविधिकहरुका लागि मात्र माग गर्नु उपर्युक्त नहुने धारणा प्राधिकरणका अधिकारीहरुको थियो । तथापि, दूर्गम भत्ता उपलब्ध गराउनका लागि पहलकदमी लिई अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने निश्कर्ष निकालिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए।

त्यसैगरी, सदरमुकामभन्दा बाहिर रहेका प्राविधिकहरुलाई यातायात एवं टेलिफोन तथा इन्टरनेटको खर्च लागि विगतमा समेत निश्कर्ष निकालिसकिएकोले त्यसको व्यवस्थापन गरिने प्राधिकरणले आश्वासन दिएको छ । यसका साथै, विपद् व्यवस्थापनसँग सम्बन्धित एवं क्षमता अभिबृद्धि तालिमहरुका लागि गरिरहेको पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस्तै, पुनर्निर्माण कार्य सम्पन्नपश्चात् प्राविधिकहरुको योगदान र अनुभव राज्यले सदुपयोग गर्नुपर्ने मागका सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, “सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा बसेको निर्देशक समितिको १८ औं बैठकले विपद् जोखिमबाट सुरक्षित नेपाल महाअभियान सुरु गर्ने लक्ष्य निर्धारण गरेको छ । त्यो अभियान सुरु गर्दा स्वाभाविक रुपमा पुनर्निर्माणको अनुभवप्राप्त प्राविधिकहरुले रोजगारी पाउने स्थिति बन्नेछ । यो अभियानअन्तर्गत गाउँपालिका र नगरपालिकाहरुले घर नक्सा पासको प्रणाली विकास गरी कार्यान्वयन गर्नुपर्नेछ । त्यसका लागि अनुभवी प्राविधिकहरुको माग हुनेछ ।”

“आगामी दिनमा खरको छाना हटाउँदै जाने क्रममा कैयौं घरको प्रवलीकरण गर्नुपर्नेछ । त्यसैगरी, देशैभरिका सार्वजनिक संरचना कत्तिको बलिया छन् भनेर ‘स्ट्रक्चरल एसेसमेन्ट’ गरी सुरक्षित बनाउनका लागि दक्ष प्राविधिक चाहिन्छ । सबै पालिकाहरुमा विपद् जोखिम नक्साकंन गनुपर्नेछ । देशैभरि विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि जनचेतना अभियान संचालन गर्नुपर्नेछ । यी सबै कामका लागि पुनर्निर्माणको अनुभव लिएका प्राविधिकहरुको आवश्यकता पर्नेछ”, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने।

प्राधिकरणले पुनर्निर्माणमा खटिएका सबै प्राविधिकहरुको विवरण समेटेर रोष्टर तयारीको काम अगाडि बढाइसकेको छ । संस्थागत अभिलेख हस्तान्तरण गर्ने क्रममा उक्त रोष्टर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित नगरपालिका र गाउँपालिकाहरुमा पठाउने योजना रहेको पनि ज्ञवालीले जानकारी दिए।

ज्ञवालीले भने, “सम्बन्धित पालिकालाई पुनर्निर्माणमा अनुभव प्राप्त प्राविधिकलाई प्राथमिकता दिनका लागि हामी आवश्यक पत्राचार पनि गर्नेछौं । हामीले यस विषयमा गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघसँग छलफल पनि गरिरहेका छौं । हामी उक्त रोष्टर पुनर्निर्माण प्राधिकरण एवं पछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वेवसाइटमा पनि राख्नेछौं । पुनर्निर्माणका क्रममा विकास भएको प्राविधिक जनशक्ति नेपालको ठूलो पुँजी हो । यो पुँजीको कसरी भरपुर सदुपयोग गर्न सकिन्छ भनेर प्राधिकरणले गम्भीर पहल गरिरहेको छ । विकास र समृद्धिका थुपै्र कामहरु अगाडि बढेको र आगामी दिनमा त्यो गति झन् बढ्ने भएकोले यो तालिमप्राप्त जनशक्तिले पर्याप्त रोजगारी पाउनेछ भन्ने मलाई विश्वास छ ।”

प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष इञ्जिनियर अविनाश अमरले प्राधिकरणमा भएको छलफल सकरात्मक भएको र समझदारीहरु पूरा हुने विश्वास बढेको बताए ।“माग पूरा गर्ने समयसीमा किटान गर्न सकिएको भए अझ ढुक्क हुने वातावरण बन्थ्यो । प्राविधिकहरुको योगदान र अनुभव राज्यले सदुपयोग गर्ने मागका सन्दर्भमा माथिल्लो तहबाट सम्बोधन हुनुपर्छ भन्ने हाम्रो धारणा छ,” अमरले भने।

छलफलमा राष्ट्रिय प्राधिकरणका कार्यकारी समिति सदस्य डा हरिराम पराजुली, जनशक्ति व्यवस्थापन महाशाखा प्रमुख यमुना प्रधान, केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन० का आयोजना निर्देशक श्यामकिशोर सिंहलगायतका अधिकारीहरुको पनि उपस्थिति थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.