आन्तरिक उडान ह्वात्तै घट्यो

डिसी नेपाल
१७ वैशाख २०७८ १९:१३
120
Shares

काठमाडौं। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ। अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ। निषेधाज्ञाको दोस्रो दिन आज मात्रै ७७ उडान भएका विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार शुक्रबार कूल ७७ उडान भएका छन्। बुद्ध एयरका ३५, यती एयरलाइन्सका २०, श्री एयरलाइन्सका १२, तारा एयरका चार तथा नेपाल एयरलाइन्सका चार उडान भएका छन्। बिहिबारको तुलनामाा यो सङख्या आधाभन्दा कम हो। शनिबार यो सङ्ख्या अझ घट्ने बताइएको छ।

शनिबारका लागि ६५ उडान निर्धारण गरिएको महाप्रबन्धक तिवारीले बताए। निषेधाज्ञा शुरु भएको पहिलो दिन बिहीबार विमानस्थलमा आन्तरिकतर्फ कूल २०८ उडानमार्फत आठ हजार २६९ यात्रुले हवाई यात्रा गरेका छन्। यीमध्ये काठमाडौँबाट पाँच हजार ४५३ हवाई यात्रु बाहिरिएका छन् भने दुई हजार ८१६ हवाई यात्रु काठमाडौँ भित्रिएका विमानस्थलले जनाएको छ।

विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार बिहिबार सबैभन्दा बढी बुद्ध एयरले ९६ उडानबाट चार हजार २८ यात्रुलाई हवाई सेवा दिएको थियो। यती एयरलाइन्सले ५२ उडान गरेको थियो। ती उडानबाट दुई हजार ४५७ यात्रुलाई गन्तव्यमा पुर्याइएको छ। त्यसैगरी श्री एयरलाइन्सले एक हजार ४८४, तारा एयरले ११३, समिट एयरले ८३ र नेपाल एयरलाइन्सले १०४ यात्रुलाई सेवा दिएको विमानस्थलले जनाएको छ।

निषेधाज्ञाको अघिल्लो दिन सर्वाधिक १४९ उडानमार्फत १५ हजार २६३ यात्रुले सेवा लिएका थिए। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकप्टर कम्पनीसहित २० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.