सडकको धुलोसहित काठमाडौँमा ५० प्रतिशतले घट्याे फोहोरको मात्रा

डिसी नेपाल
२० वैशाख २०७८ ११:१७
204
Shares

काठमाडौं। काठमाडौँ महानगर क्षेत्रभित्र ठाउँ हेरेर फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको वातावरण व्यवस्थापन विभागले बताएको छ। सामान्य अवस्थामा महानगरले दैनिक २५ गाडीसम्म फोहोर ल्याण्डफिल साइटमा पुर्याउने गरेको थियो।

आज १३ वटा गाडी पठाउने तयारी छ। वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार व्यवसायिक क्षेत्रमा मात्रा धेरै घटेको छ भने आवासीय क्षेत्रमा कम घटेको छ। सडकमा जम्मा हुने फोहोर ५० प्रतिशतसम्म घटेको छ।

घरघरमा उत्पादन हुने फोहोरको मात्रा ३० प्रतिशतसम्म घटेको वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालको भनाइ छ। ‘होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस बन्द भएकाले धेरै फोहोर उत्पादन हुने ठाउँ घटेको देखिए पनि घरघरबाट उत्पादन हुने फोहोरको मात्रा धेरै घटेको छैन। मानिसहरु बसेर खाइरहेका छन्,’ उनले भने।

यता फोहोरमैला व्यवस्थापन संघको अनुमान अलि फरक छ। संघका महासचिव मीत्र घिमिरेकाअनुसार बाहिर बन्द भएकाले मानिसहरुले घर, आँगन सफा गर्दा निस्किएको फोहोर आएको छ। यो क्रम सधैं  हुँदैन । त्यसैले अहिलेभन्दा फोहोरको मात्रा घट्ने सम्भावना छ। उदाहरण दिँदै उनले भने, ‘वडा ३, ४ र ७ बाट पहिले दैनिक ८ ट्रिपर फोहोर संकलन हुने गरेकोमा अहिले ६ ट्रिपर मात्र संकलन भइरहेको छ। यो पनि घट्ने क्रममा छ।’

कोविड संक्रमण भएका मानिसहरु घरमा बसेका छन्। उनीहरुले उत्पादन गरेको फोहोर कसरी व्यवस्थापन हुन्छ, प्रश्नको उत्तरमा दाहाल भन्छन्, पहिलेभन्दा अहिले अवस्था फरक छ। कुन घरमा कोविडको संक्रमित हुनुहुन्छ, थाहा हुन्छ । उहाँहरुसँग कुरा गरेर विरामीले उत्पादन गरेको फोहोर ननिकाल्न आग्रह गर्छौँ।’

महानगरले जैविक फोहोरलाई कम्पोष्टिङ् गर्न र घरमा कोही संक्रमित भए त्यहाँबाट उत्पादन भएको फोहोर निसंक्रमण गरेर व्यवस्थापन गर्न आग्रह गरेको छ ।

घरेलु फोहोरसँगै महानगरले सडक सफाइका लागि नियमित ब्रुमर सञ्चालन गरिरहेको छ। सडकबाट संकलन हुने धुलोको परिणाम पनि घटेको छ। पहिले सवारी साधनले उत्पादन गरेको धुलो हुन्थ्यो । अहिले पानी र हावाले ल्याएको धुलो छ। तैपनि अहिले धुलो घटेको छ । विभागका प्रमुख श्रेष्ठको भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.