गृहसचिव शर्माद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण
काठमाडौं। गृहसचिव केदारनाथ शर्माले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरी प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन्।
निरीक्षणका क्रममा शर्माले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र, डिजिटल फरेन्सिक प्रयोगशाला र तथ्याङ्क केन्द्रको निरीक्षण गरेका थिए।
उनले भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरी तथा कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।
शर्माले सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण तथा अनुसन्धान र कानुन कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउदै नागरिकको अपेक्षा सम्बोधन गर्दै अझ इमानदार, कर्तव्यनिष्ठ, व्यावसायिक र नागरिकमैत्री सेवा प्रवाह गर्न उनले निर्देशन दिएका थिए।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गृहसचिवको निर्देशनप्रति आभार व्यक्त गर्दै भोटेकोशी बाढीमा बेपत्ता प्रहरी कर्मचारीको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको जानकारी दिए। उनले विपद् उद्धारका लागि प्रहरीलाई आवश्यक प्रविधि र स्रोतसाधन उपलब्ध गराउन गृह मन्त्रालयसँग आग्रह गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment