प्रयोगविहीन अक्सिजन सिलिण्डर सङ्कलन गरिँदै, स्वतःस्फुर्त उपलब्ध गराउन गृह मन्त्रालयकोे अपिल
काठमाडौं । मुलुकभर अक्सिजन सिलिण्डरको अभावमा विरामीको उपचार प्रभावित भइरहेको समाचार सार्वजनिक हुँदै गर्दा प्रहरीले स्थानीय सरोकारवाला सङ्घ संस्थाको समन्वयमा प्रयोगविहीन अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पतालमा पुर्याउन थालेको छ ।
केही अघि मात्रै अक्सिजन उद्योगको निगरानीको जिम्मा पाएको नेपाल प्रहरीले दुरुपयोग हुन नदिन र प्रयोगविहीन सिलिण्डरको खोजी गरी अस्पतालमा पुर्याउन थालेको हो ।
गृह मन्त्रालयका अनुसार शुक्रबार मात्रै विभिन्न जिल्लाहरुमा १ हजार ८१६ थान अक्सिजन सिलिण्डर संकलन भएको छ । जम्मा भएका अक्सिजन सिलिण्डर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रत्यक्ष संलग्नता र समन्वयमा वितरण गरिएको छ ।
स्टक रहेका अक्सिजन सिलिण्डर स्वतःस्फुर्त रुपमा नजिकको अस्पताल वा सुरक्षा निकायमा उपलब्ध गराउनका लागि गृह मन्त्रालयले सबैमा हार्दिक अपिल समेत गरेको छ ।
अक्सिजन उत्पादक सङ्घले नेपालमा अक्सिजनको अभाव नभएको तर सीमित रहेकाले सिलिण्डरको अभाव भएको जनाउँदै आएको छ । अहिले मानिसहरुले घरमै सिलिण्डर ‘स्टक’ राख्दा समस्या भएको सङ्घले जनाएको छ ।
सिलिण्डरको अभाव पूर्ति गर्न सरकारले चीनबाट ल्याउने प्रक्रिया अघि बढाइसकेको छ । पछिल्लो समयमा अक्सिजनको अभावमा मानिसको मृत्यु भएको घटनासमेत सार्वजनिक भइरहेको छ ।
नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ललितपुर जिल्लाका विभिन्न स्थानमा प्रयोगविहीन १५९ अक्सिजन सिलिण्डर महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाइमा सङ्कलन गरिएको छ । उक्त सिलिण्डरमध्ये जिल्लाको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयानुसार तत्काल अत्यावश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलाखेललाई १५ थान सिलिण्डर उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सोही क्रममा ललितपुर प्रशासन प्रहरी, जिल्ला स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग विभागले अक्सिजन प्लान्टको अनुगमनसमेत थालेको जनाइएको छ । स्टक एवं डम्प भई बसेका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तीव्रता ल्याउनुका साथै आमनागरिकमा यससम्बन्धी जानकारी भएमा नजिकको प्रहरीलाई खबर गर्न पनि अनुरोध गरिएको छ ।







डिसी नेपाल








Facebook Comment