गणेशमानका तस्वीरहरु र सिर्जना भाउजूको चासो

डिसी नेपाल
२५ वैशाख २०७८ ६:३०

२०४६ सालको प्रजातान्त्रिक आन्दोलनका सर्बोच्च कमाण्डर तथा सर्वमान्य नेता लौहपुरुष गणेशमान सिंहसँग भाग्यवस मेरा अनेक सम्झनाहरु छन्।

लोकतान्त्रिक आन्दोलनमा सहभागी हुने लालसा बोकेको म जस्तो एउटा युवाका लागि उहाँसँग संगत गर्ने एउटा अपूर्व अवसर जुरेको थियो। यसअघि उहाँका केही प्रसंगहरु डिसी नेपाल मार्फत नै उल्लेख गरिसकेको छु।

यसपटक उहाँको सालिनता, सादगी जीवन वा त्यागको विषयमा भन्दा पनि मसँग रहेका उहाँका केही तस्वीरहरुबारे उहाँकी बुहारी सिर्जना सिंहले राखेको चासोका बारेमा लेख्ने जमर्को गरेको छु। सिर्जना भाउजूले सर्बोच्च नेता गणेशमान सिंहसँगका दुर्लभ तस्विरहरु संकलन गर्ने गर्नुभएको रहेछ। मैंले आफ्नै हिसावले उहाँको एउटा तस्वीर ट्वीटरमा पोष्ट गरेको थिए केही समय अगाडि।

मसँग गणेशमानका केही पुराना तस्वीरहरु छन् पनि। मैले केही समय उहाँसँग विभिन्न समय र कार्यक्रममा हिड्ने मौका पनि पाएको व्यक्ति भएकाले ती तस्वीरहरुलाई आदरपूर्वक जतन गरि राखेको पनि छु। सिर्जना भाउजूको आग्रहपछि मसँग भएको अर्को एउटा तस्वीर पनि उहाँलाई पठाइदिएँ।

२०४४/४५ सालतिरको त्यो तस्वीर ट्वीटरमा देखेपछि आदरणीय भाउजु सिर्जना सिंहले उत्साहित हुँदै अरुपनि त्यस्तै पुराना तस्वीरहरु छन् कि भनेर सोध्नुभएको र अनुकुलतामा उहाँले ती तस्वीरहरु आफूले संकलन गर्न पाए हुन्थ्यो भन्ने आग्रह पनि गर्नुभएको थियो।

मसँग गणेशमानका केही पुराना तस्वीरहरु छन् पनि। मैले केही समय उहाँसँग विभिन्न समय र कार्यक्रममा हिड्ने मौका पनि पाएको व्यक्ति भएकाले ती तस्वीरहरुलाई आदरपूर्वक जतन गरि राखेको पनि छु। सिर्जना भाउजूको आग्रहपछि मसँग भएको अर्को एउटा तस्वीर पनि उहाँलाई पठाइदिएँ।

दोश्रो तस्वीर २०४८ सालको चुनावताकाको थियो जुनबेला किशुनजी अन्तरिम सरकारको प्रधानमन्त्री हुनुहुन्थ्यो भने गणेशमानजी सर्वमान्य नेता तथा प्रजातन्त्रको पिताको रुपमा र गिरिजावावु पार्टीको महामन्त्रीको रुपमा जिम्मेवार हुनुहुन्थ्यो।

किशुनजीको काम प्रधानमन्त्रीको रुपमा त्यसबेलाका सवै शक्तिहरु (राजनीतिक दलहरु, दरवार र सैनिक शक्तिसमेत) लाई समेटेर संविधान जारी गरिसकेपछि स्वतन्त्र निर्वाचनमार्फत निर्वाचित सरकार गठन गर्ने महत्वपूर्ण काममा केन्द्रित हुनुभएकोले नेकाको पार्टी अध्यक्ष भए पनि पार्टीको निर्वाचनमा नखटेर नितान्त राष्ट्रिय जिम्मेवारीमा मात्रै सीमित रहनुभएको थियो।

त्यसैले पार्टीका लागि निर्वाचनको दौडधुपमा गणेशमान र गिरिजाबावु लाग्नुभएको थियो। मेरो यो दोश्रो तस्वीर पनि त्यही २०४८ को निर्वाचनताकाको दौडधुपकै बेलाको थियो।(हेर्नुहोस् तस्वीर पनि)

जसमा गणेशमानजी र गिरिजाबाबु तन्ना बिच्छ्याइएको खाटमा बस्नुभएको छ भने उहाँहरु दुबैको बीचमा पर्ने गरी म तल भुइँमा बसेको छु। पहिलो तस्वीरको बारेमा मैले पहिले नै डिसी नेपालमा लेखिसकेको पनि छु। त्यो गणेशमानजीको अस्थायी ट्वाइलेट अगाडिको तस्वीर हो।

 

यी दुवै तस्वीरहरु पठाइदिइसकेपछि मैले सिर्जना भाउजूलाई कुनै समयमा खासगरी पञ्चायतकाे बेला आफूले चाक्सीबारीमा बसेर धेरै पटक चिया खाएको प्रसंग सुनाएको थिएँ। गणेशमानजी अहिले हुनुहुन्न तर पनि सिर्जना भाउजूले आत्मीयतापूर्वक मलाई चाक्सीबारीमा पुन: चिया खान आउन निम्ता दिनुभयो।

हाल आफू अमेरिकामा बस्दै आएको भएपनि सिर्जना भाउजूले नेपाल आउदा जसरी भएपनि चाक्सीबारीमा पुरानै आत्मियतालाई जिवन्त हुनेगरी चिया खान आउनुहोला है, गणेशमान बा नभए पनि हामीहरु त छौं नि भनेर आत्मीयतापूर्वक मलाई निम्त्याउनु भएको थियो। हरेक बर्ष झैँ यसपटक पनि म नेपाल जाने निर्णय गरेँ।

तर मेरो उक्त निर्णय अरुपटकको नेपाल यात्रा भन्दा यस अर्थमा उत्साहजनक थियो कि म झन्डै २५ बर्षपछि चाक्सीबारीमा पुनः पुरानो याद ताजा गराउने योजनामा थिएँ। म नेपाल पुगिसकेपछि भाउजूले पुनः अनुरोध दोहोर्याउनु भयो। “कहिले आउन सम्भव हुन्छ कृपया फोन गरेर खबर गर्नुहोला, मैले प्रकाशमान दाइलाई पनि तपाईँ आउने कुरा भनिसकेकी छु, उहाँले पनि फुर्सद मिलाउछु भन्नुभएको छ” भनेर मलाई आफ्नो फोन नम्बर पनि पठाउनुभयो।

तर त्यसबेला म सगरमाथा आधार शिविरको यात्रा सकेर भर्खर मात्रै काठमान्डौ फर्केको थिएँ। त्यसपछि मेरो पुर्खौली घरमा केही व्यबस्थापनको गर्नुपर्ने भएकोले त्यस कामको लागि केही दिन स्याँङ्जातिर अल्मलिएँ। यसैबीचमा मलाई काठमाडौंबाट मित्र प्रकाश पोखरेलजीले “मुगुमा अवस्थित संसारकै सुन्दर स्थान रारा ताल घुम्न जाने प्रोग्राम बनेको छ, तपाईँ पनि जाने हो” भनेर सोध्नुभयो। मैले नाई भन्ने त कुरै थिएन, त्यसैले हतार हतार रारा जानको लागि काठमान्डौ फर्किएँ।

स्याँङ्जाबाट फर्केपछि चाक्सीबारी आउने कुरा तय भएको थियो सिर्जना भाउजूसँग। तर अकस्मातको रारा यात्राको योजनाले गर्दा त्यो सम्भावना भएन र सिर्जना भाउजूलाई खबर पठाए “अकस्मात कर्णालीतिरको यात्रा तय भयो, उताबाट फर्कनासाथ भेटौंला है” भनेर।

उहाँले पनि हुन्छ भन्नुभएको थियो। तर राराबाट फर्कँदा बुटवलतिरको भेटघाटसमेत गर्दै आउँदा अलिक ढिला पनि भयो। तर पनि अमेरिका फर्कनु अघि अब काठमान्डौ तिरको भेटघाटलाई मात्रै समय दिन्छु भनेर ढुक्क थिएँ म। त्यसमाथि पनि गणेशमानजीको निवास चाक्सीबारी पुगेर पुराना सम्झनाहरु ताजा पार्ने अभिलासा त झनै उत्कट छँदै थियो मलाई।

तर, सोचेजस्तो कहाँ हुँदोरहेछ र! समयले भने अर्को असजिलो बाटो देखाईदियो, त्यो थियो कोरोनाको बिगबिगी। जताततै कोरानाका बिरामी देखिन थाले, एक हिसावले नेपालको जनसमुदाय यो रोगको चपेटामा पर्न थालिसकेको थियो। यसको परिणाम अन्ततः लकडाउनको कुरा आयो।

फाट्टफुट्ट एक दुई भेटघाटबाहेक अरु भेटघाट सबै थाँती राखेर हतार हतार छुट्टै नयाँ टिकट किनेर भोलिपल्ट नै कर्मभूमि फर्किन बाध्य भएँ। एयरपोर्टमा आएर सबै काम सकेर सिर्जना भाउजुलाई फोन गर्ने बेलासम्म त म जहाजभित्र पसिसकेको थिए। तर पनि हतार हतार भाउजूलाई फोन गरे र भने “भाउजू म त अचानक फर्किन लागेँ, अहिले एयरपोर्टमा पनि जहाजभित्र छु, अब उड्नै लागेको।

यसपटक मलाई माफ गरिदिनुहोला है भाउजू! ” एकछिन त उहाँले न्याश्रो मान्नुभयो तर पनि परिस्थितिलाई आत्मसात गर्दै यो पटक जे जस्तो भएपनि अर्कोपटक भने अवश्य भेट्ने वाचा गरेर एकै छिनमा म आकाशको बाटो हावामा उचालिएँ।

आशा छ अर्को पटक भने चाक्सीबारीसँगको मेरो पुरानो स्मरणलाई ताजा पार्न कुनैपनि कुराले भाँजो हाल्ने छैन। मलाई माफ गरिदिनुहोला भाउजू, मैले आफ्नो वचनलाई यसपटक पूरा गर्न सकिन, म क्षमाप्रार्थी छु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *