यात्रुबाट चर्को भाडा शुल्क उठाउने ७ जना काउण्टर कर्मचारी पक्राउ
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणा गरेको दिनदेखी परिचालन गरेको बिशेष छड्के चेकजाँच तथा अनुगमन टोलीले बिभिन्न स्थानबाट दैनिक रुपमा यात्रु ठगी गर्नेलाई पक्राउ गरेको छ।
‘महामारीको यस्तो परिस्थितिमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगीन सक्ने कुरालाई मध्यनजर गरि बिशेष टोली परिचालन गरेका छौं,’ टोलीले सम्भावित त्यस्ता स्थानहरुमा निग्रानी गर्ने, आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढि भाडा लिने व्यक्तीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।
उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट आएका र अत्याबश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जानुपर्ने यात्रुहरुसँग तोकिएको भन्दा तीन गुणा बढि भाडा लिने काउण्टरका कर्मचारीहरुलाई कलंकी र बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको उनले जानकारी दिए।
ट्राफिक प्रहरीले सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भई थानकोट बस्ने बर्ष ५३ को मनु अर्याल र उनकै छोरा बर्ष ३० को अनु अर्याललाई पक्राउ गरेको हो। त्यस्तै नारायणी यातायात काउण्टरका टिकट बुकिङ् स्टाफ हेटौडाका ३८ बर्षे नवराज घिमिरे, कुलेश्वर बस्ने बर्ष ४४ का बिपिन सुबेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ् ईन्चार्ज सुन्धारा काठमाण्डौंका ४९ बर्षे ज्ञानेन्द्र साह समेत बढी भाडा लिएको कसुरमा पक्राउ परेका हुन्।

उनीहरुले धनुषा, महोत्तरी र बिरगंज जाने यात्रुहरु संकलन गरि प्रति ब्यक्ति पच्चीससय देखि तीनहजारसम्म भाडा लिने गरेको पाइयो, जुन तोकिएको भन्दा करिव तीन गुणा बढि हुन आउने महाशाखाले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई आबश्यक कारबाहीका लागि प्रहरी बृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ। त्यसैगरि गंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग छ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रालीका कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागरिराम छिनाललाई पक्राउ गरी थप कारबाहीका लागि प्रहरी प्रभाग नयाँबसपार्कमा बुझाएको समेत महाशाखाले जनाएको छ।
पछिल्लो समय काउण्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु नै बढि भाडा लिएको कसुरमा पक्राउ पर्ने क्रम वढेको देखिन्छ। निषेधज्ञा लागु भएपछि अत्यावश्यक काम बिशेष र बिदेशबाट आएकाहरुसँग आफुखुशी बढी भाडा लिने १६ जनालाई पक्राउ गरि महाशाखाले कारबाहि गरेको छ।
महाशाखाले अत्यावश्यक परि यात्रा गर्नुपरेमा टिकट काटेर मात्र यात्रा गर्न र तोकिएको भम्दा बढि भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।







डिसी नेपाल








Facebook Comment