एकाएक कसरी व्याक भए माधव नेपाल, राजीनामा नदिने प्रस्ताव नेपाल कै
काठमाडौं। आइबार रातिसम्म पनि माधव नेपाल समूहका सांसद राजीनामा दिने तयारी अवस्थामा थिए। उनीहरु प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको माग पूरा गर्दैनन्, र अन्तिम विकल्प भनेको राजीनामा नै हो भन्नेमा थिए।
आइतबार राति माधव नेपालले अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएका थिए। उक्त प्रस्तावमा संस्थापन पक्षले कुनै जवाफ नदिएपछि सोमबार विहान राजीनमा दिने भन्दै नेपाल समूहका सांसद सिंहरबारस्थित संसद सचिवालयमा भेला भएका थिए। सांसद भेला भइहरेका बेला वरिष्ठ नेता माधव नेपाल पुगेपछि बैठक सुरु भयो।
स्रोतका अनुसार माधव नेपाल तुलनात्मक रुपमा केही नरम रुपमा प्रस्तुत भएका थिए। उनले जे निर्णय गरेपनि सहमतिमै गरौं भन्ने प्रस्ताव बैठकमा राखे। साथै नेपालले आफ्नो आइतबार राति ओलीसँग फोन सम्वाद भएको पनि संकेत गरे। ओलीले मिलेरै जान आफू तयार रहेको सन्देश नेपाललाई दिएको नेपालले संकेत गरेका थिए।
नेपालले नेपालले लामो भूमिका बाँध्दै आफूहरुको मुख्य ध्येय ओलीलाई सत्ताच्युत गर्नु रहेको तर ओली आफैं राजीनामा दिने अवस्थामा पुगेको भन्दै आफूहरुको राजीनामाको अर्थ नहुने बताएका थिए।
‘ओलीले विश्वासको मत नपाउने अवस्थामा आफैं राजीनामा दिएर आजै फेरि प्रधानमन्त्री नियुक्ती हुँदैछन् भन्ने सूचना आएको छ,’ बैठकमा नेपालले भनेका थिए, ‘यस्तो अवस्थामा हामीले राजीनामा दिँदा उनलाई खासै असर नपर्ने देखियो। अहिले हामीले रिक्स लिएर राजीनामा दिनुको औचित्य पुष्टि नहुन सक्ने अवस्था छ।’
नेपालले अहिले राजीनामा पनि नदिने र संसद बैठकमा पनि उपस्थित नहुने प्रस्ताव गरेपछि त्यसलाई सबैले समर्थन गरेको नेपाल निकट स्रोतले दाबी गरेको छ।
‘राजीनामा दिँदा पार्टी विभाजन हुने भयो, हामी एमाले पनि नरहने र सांसद पद पनि नहरने अवस्थामा धेरै रिक्स नलिऔं भन्ने प्रस्ताव आयो,’ बैठकमा सहभागी एक सांसदले डिसी नेपालसँग भने, ‘अहिले पार्टी जोगाउँ, ओली फेरि पनि सुध्रिएनन् भने अविश्वासको प्रस्ताव ल्याएर हटाउने विकल्प बाँकी नै छ। त्यसैले राजीनामा नदिऔं भन्ने निर्णय भयो।’ पार्टी एकतालाई जोगाउन आफूहरुले मध्यमार्गी बाटो लिएको उनीहरको जिकिर छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment