दमौली अस्पतालले शुरु गर्यो कोभिड सङ्क्रमितको उपचार
तनहुँ। दमौली अस्पतालले कोभिड सङ्क्रमितको उपचार शुरु गरेको छ। अस्पतालले मङ्गलबारदेखि कोभिड सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु गरेको हो। अस्पतालमा पाँच सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेलले जानकारी दिए। उनका अनुसार चार व्यास नगरपालिका र एक म्याग्देका सङ्क्रमितको उपचार शुरु गरिएको छ। सबै सङ्क्रमित निमोनियापीडित छन्। सङ्क्रमितलाई अक्सिजन दिइएको छ।
“सबै सङ्क्रमितको फोक्सोमा निमोनिया देखिएको छ, उनहरुलाई अक्सिजन र अत्यावश्यक औषधि दिइएको छ”, डा पौडेलले भने। उनका अनुसार अस्पतालमा १६ सङ्क्रमितलाई उपचार गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ। अहिलेको अवस्थामा उक्त शय्या आजै भरिनेजस्तो देखिएको डा पौडेलले बताए। अस्पतालले जनरल वार्डलाई कोभिड कक्षमा रूपान्तरण गरेको थियो। उक्त ठाउँमा शय्या थप गर्ने प्रयास भइरहेको पनि अस्पतालले जनाएको छ। अस्पतालले सात आइसीयू र चारवटा भेन्टिलेटरसहितको शय्या यसअघि नै तयार गरिसकेको छ।
जनप्रतिनिधि चढ्ने गाडी एम्बुलेन्समा रूपान्तरण
तनहुँको बन्दीपुर गाउँपालिकाले पदाधिकारीले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा समयमै एम्बुलेन्स पाउन नसक्ने भएपछि गाउँपालिकाले पदाधिकारी चढ्दै आएको सवारीलाई एम्बुलेन्स बनाएको हो।
हाल गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स रहेको र सर्वसाधारणको सहजताका लागि गाउँपालिकाको गाडीलाई एम्बुलेन्स बनाइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। बन्दीपुरमा हाल एउटा जीर्ण अवस्थामा रहेको एम्बुलेन्स छ। “पुरानो भएकाले जुनसुकै बेला पनि धोका हुनसक्छ, त्यही भएर पूर्वतयारीस्वरूप हामीले नै चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनायौँ”, थापाले भने।
गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि दुईपटक सूचना आह्वान गरेको थियो तर त्यो अवधिमा गाउँपालिकाले एम्बुलेन्स खरिद गर्न सकेन। “एम्बुलेन्स किन्न सूचना निकाल्याैँ, तर एम्बुलेन्स नै पाइएन”, उनले भने। कोरोना सङ्क्रमितको उपचारका लागि गाउँपालिकाले बन्दीपुर अस्पतालमा १५ शय्याको आइसोलेशनसमेत तयार पारिसकेको छ। आइसोलेशनमा हाल १० थान अक्सिजन सिलिण्डर मौज्दात छ भने प्रहरीले डुम्रेबाट सङ्कलन गरेको १० थान सिलिण्डर पनि प्राप्त भएको छ। “बन्दीपुर गाउँपालिका कोभिड सङ्क्रमितको उपचारका लागि तयारी अवस्थामा छ”, थापाले भने।रासस







डिसी नेपाल








Facebook Comment