९३ प्रतिशत नेपाली विद्युतको पहुचमा, ९१.५ प्रतिशतको घरमा खानेपानी
काठमाडौं। देशका ९३ प्रतिशत जनताको घरमा बिजुली पुगेको छ। अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७÷७८ का अनुसार, २०७७ फागुनसम्ममा वैकल्पिक ऊर्जासहित देशका ९३ प्रतिशतको घरमा बिजुलीको पहुँच पुगेको छ।
यसमध्ये राष्ट्रिय ग्रीडबाट ९० प्रतिशत र वैकिल्पक विद्युत (सोलारसहित)बाट ३ प्रतिशत नागरिकको घरमा विद्युत पहुँच पुगेको छ। गत असारसम्ममा बिजुलीको पहुँच पुगेका घरपरिवारको संख्या ९० प्रतिशत थियो।
सबैभन्दा धेरै प्रदेश २ मा ९९.०५ प्रतिशतको घरमा विद्युत पहुँच पुगेको छ भने सबैभन्दा थोरै कर्णालीमा ३४.७५ प्रतिशतको घरमा विद्युत पहुँच पुगेको छ।
गत फागुनसम्ममा राष्ट्रिय ग्रीडमा कुल विद्युत जडित क्षमता १ हजार ४५८ मेगावाट पुगेको छ। २०७६ फागुनसम्ममा यस्तो क्षमता १ हजार ३५५ मेगावाट थियो। एक वर्षको अवधिमा राष्ट्रिय प्रसारण प्रणालीमा १०३ मेगावाट विद्युत थप भएको हो। यसमध्ये वैकल्पिक ऊर्जाबाट ७२ मेगावाट उत्पादन भएको छ।
देशभरिमा सबैभन्दा धेरै विद्युत गण्डकी प्रदेशबाट ५२७ मेगावाट उत्पादन भइरहेको छ। प्रतिव्यक्ति विद्युत खपत २६० किलोवाट घण्टा पुगेको छ।
सर्वेक्षणका अनुसार, ९१.५ प्रतिशत जनताको घरमा आधारभूत खानेपानीको सुविधा पुगेको छ। तर, उच्च मध्यम स्तरको खानेपानीको सुविधा पुग्ने जनसंख्या भने २३ प्रतिशत मात्रै छ।







डिसी नेपाल







Facebook Comment