पार्टीको पद खाएर पार्टीकै खेदो खन्न माधव नेपाललाई कसले उचालिरहेको छ?

जगदीश दाहाल
२५ जेठ २०७८ १५:१८

नेपाली राजनीतिको हलो अड्किएको छ। हलो पनि यसरी अड्किएको छ कि त्यो सहजै अगाडि बढ्न सक्ने देखिन्न। अघिल्लो निर्वाचनमा जनताले एउटा दललाई लगभग २ तिहाइ बहुमत दिएर पठाएका हुन्। तर, त्यसरी बनेको सरकार पनि ५ वर्ष टिक्न सकेन।

५ वर्ष त के २ वर्ष पनि टिकेन किनकि सरकार गठनको दुई वर्ष नहुँदै आफ्नै दलभित्रबाट प्रधानमन्त्रीलाई विस्थापित गराउने कसरत सुरु भइसकेको थियो। आफ्नै पार्टीभित्र विद्रोह भइसक्दा जबरजस्ती अडिएको सरकारलाई टिकेको भन्न मिल्दैन।

अर्थात औपचारिक र कानुनी रुपमा समर्थन जारी रहेको भए पनि यो सरकारले गठनको २ वर्ष नपुग्दै बहुमत सांसदको समर्थन गुमाइसकेको साँचो हो। र, यो घटनाले दिएको सबैभन्दा महत्वपूर्ण सन्देश भनेको नेपालमा पूरा कार्यकाल कुनै सरकार टिक्दैन वा टिक्न दिइँदैन भन्ने नै हो।

२०४६ देखि २०७८ सम्म आइपुग्दा ३२ वर्ष बिते। तर यो अवधिमा देशमा कहिल्यै स्थिर सरकार देखिएन। २०४८ देखि अहिलेसम्म आइपुग्दा देशमा ६ पटक संसदीय निर्वाचन भइसके तर कहिल्यै पनि सरकारले आफ्नो कार्यकाल पूरा गर्न पाएन।

यस अवधिमा २०४८, २०५६ र २०७४ गरी ३ पटकका निर्वाचनमा प्रस्तावित प्रधानमन्त्रीले स्पष्ट बहुमत पाए। तर, यी तीनै पटक बनेका प्रधानमन्त्रीले बाध्य भएर पद त्याग गर्नुपर्यो।

यी तीनैपटक एउटा अनौठो र नेपालीका लागि निकै दुःखलाग्दो संयोग रह्यो–हरेक पटक प्रधानमन्त्रीलाई पदबाट हट्न बाध्य पार्ने काम आफ्नै पार्टीका सहकर्मीबाट भयो। के यो संयोग मात्रै थियो? २०१५ को निर्वाचनमा दुई तिहाइ बहुमत पाएका प्रधानमन्त्री वीपी कोइरालालाई राजाले हटाएर पञ्चायती व्यवस्था लागू गराएका थिए।

खासमा माधव नेपालल के स्वार्थका लागि आफ्नै दलमा विद्रोह गरिरहेका छन्? उनी छिमेकीसँग होइन आफ्नै परिवारभित्र विद्रोह गरिरहेका छन् त्यो पनि छिमेकीको इशारामा। यिनलाई कसले बाध्य बनाइरहेको छ? आज आफ्नै दलको नेता केपी शर्मा ओली भन्दा अर्को नेता वा अर्को दलको नेताको प्रधानमन्त्री यिनका लागि किन प्यारो हुने भयो? किन यिनले अर्को दलको नेता रोजेर हस्ताक्षर गर्दै हिँडे?

त्यसलगत्तै पञ्चायती व्यवस्थाको विरुद्ध भूमिगत संघर्ष सुरु भएका थिए। ती संघर्ष गर्नेहरुले देश र जनताको हितको लागि बहुदलीय व्यवस्था हुनुपर्ने अभियान अगाडि बढाए। बहुदलका पक्षमा जनतालाई संगठित पारे र अन्ततः पञ्चायत फाले। पञ्चायत फाल्न बहुदलीय व्यवस्थाका पक्षधरहरुलाई ३० वर्ष लाग्यो।

३० वर्षपछि पञ्चायत गयो बहुदल आयो। आजका मितिसम्म आइपुग्दा बहुदलीय व्यवस्था लागू भएको समय पञ्चायती व्यवस्था कायम रहेको समयभन्दा धेरै भइसकेको छ। तर, पञ्चायतको अवधिभन्दा धेरै शासन गरिसक्दा पनि बहुदलको वकालत गर्नेहरुले किन एक थान स्थिर सरकार सम्म दिन सकेनन्?

बहुदलीय व्यवस्थामा भएका विकासका काम किन पञ्चायतकालमा भएका विकासका कामसँग तुलना गर्न पनि लाजमर्दो अवस्थामा छन्? नेपाल पहिलेदेखि नै विदेशी शक्तिको क्रिडास्थल थियो। बीचमा विदेशी हस्तक्षेप केही कम भएको थियो तर अहिले फेरि त्यो बढेर गएको छ।

पञ्चायतको विरोध र बहुदलको समर्थनमा जतिसुकै बुर्कुसी मारे पनि सत्य स्वीकार गर्नैपर्छ–हाम्रो देशमा विदेशी हस्तक्षेप पञ्चायतकालमै कम भएको थियो। बहुदल आएसँगै त्यो फेरि बढेको छ। बढ्दो विदेशी चलखेलकै कारण हाम्रो देशमा राजनीतिक अस्थिरता निम्तिएको कुरा लुकेको छैन।

हाम्रो देशको राजनीतिमा हालिमुहाली गर्ने बाहिरी शक्तिले यहाँ आफू अनुकूलको सरकार बनाउन चाहन्छ ताकि हाम्रो नीति उसको लागि फाइदाजनक होस्। उसलाई अप्ठेरो पार्ने गरी हाम्रो सरकारले कुनै नीति वा निर्णय गरेमा यहाँका नेताहरुलाई उचाल्ने र पछार्ने काम सुरु हुन्छ। र, पछिल्लो समय पनि त्यही भएको हो।

झण्डै २ तिहाइ बहुमतको सरकार सानो चोटले ढल्दैनथ्यो। त्यसका लागि सत्तारुढ दलबाट पूर्व माओवादी सहित माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुको गुटलाई समेत विद्रोह गराइयो। पछि सरकारले पार्टी एकीकरण नै बदर गरिदिएपछि पूर्व माओवादी त स्वतः अलग्गियो तर माधव नेपालको गुटले फर्किने सुरसार अझैसम्म गरेको छैन।

नेकपा एमालेका लामोसमय महासचिव भइसकेका, मुलुकको प्रधानमन्त्री भइसकेका, नेपालको राजनीतिक वृतमा लामो अनुभव हासिल गरेका माधव नेपाल जस्तो व्यक्तित्व आज आफ्नै दलको सरकार विरुद्ध विद्रोह गर्नुको पछाडि के कारण हो? माधव नेपालको केमा चित्त नबुझेको हो? उनको कुन इच्छालाई पर्दा पछाडिको कुन तत्वले चित्त बुझाएर उकासेको हो? यो विषय निकै गम्भीर छ।

यदि यस्तो नभए आफूले कैयौं दशक बिताएको आफ्नो पार्टीलाई भताभुंग पार्नेगरी उनी किन विपक्षीको तालमा नाचिरहेका छन्? माधव नेपाल यत्तिकै राजनीतिक जीवनको उत्तदाद्र्धमा विना स्वार्थ विना लोभ, विना डरत्रास विद्रोही बनेको पक्कै होइन होला।

उनीहरुको महत्वकांक्षा कसैले पूरा गरिदिने वा गरिदिएको हुनाले नै यो विद्रोह भएको हुन सक्छ। तर, राजनीतिक करिअरकै उत्तराद्र्धमा पुगिसकेका नेताको पछाडि लागेका नेता कार्यकर्ताको भविष्य के होला? यसरी पछाडि लागेर नेता कार्यकर्तालाई भ्रममा नपर्न कसले सम्झाइदिने?

प्रचण्ड त पहिले नै छुट्टै पार्टीमा थिए। लामो समयसम्म एउटै संगठनमा काम गरेका व्यक्ति होइनन्। समयले, परिस्थितिले, अदालतको फैसला र निर्वाचन आयोगको निर्णयले नेकपा नामको दल कायम नरहँदा उनले छुट्टै दल, छुट्टै संगठन र पहिचान लिएर निस्किनु र विरोध गर्नु स्वभाविक हो। उनी त अब कांग्रेससँग मिल्न जालान् किनभने यसअघि पनि उनी केपी ओलीकै सरकार ढलाएर प्रचण्डसँग मिल्न गएकै हुन्।

छुट्टै पार्टी भनेको छिमेकी हो, छिमेकीको हामीसँग जस्तो सम्बन्ध हुन्छ उस्तै सम्बन्ध अर्को तेस्रो छिमेकीसँग पनि हुन सक्छ। कहिले एउटा छिमेकी त कहिले अर्को छिमेकीसँग सम्बन्ध नजिकको हुन्छ। प्रचण्ड पनि पहिले एमालेसँग नजिकिएका थिए अब कांग्रेसनजिक जालान्। कांग्रेससँग मिल्ने वा गठबन्धन गर्न पुग्लान्।

जसपा नेता बाबुराम भट्टराई र उपेन्द्र यादव पनि कांग्रेसकै गठबन्धनमा जालान्। अझ जसपा नामको गठबन्धनबाट पूर्व राजपा अलग भइ ओली नेतृत्वको सरकारमा सामेल हुन आइसकेको छ। यी सबै एक गाउँका छिमेकीहरु हुन् र उनीहरुको आफ्नै स्वार्थ छ। भइरहेका घटनाले सबैको स्वार्थ छर्लंगै देखाउँछन्, सबैले बुझ्न सकिन्छ।

तर माधव नेपालको हकमा भने त्यसो सोच्न सकिन्न किनकि एमाले उनको परिवार हो। छिमेकीको कुरामा लागेर आफ्नै परिवार फुटाउने किसिमका गतिविधिहरु हुन थाले भने त्यसपछि सोच्नैपर्ने हुन्छ– विद्रोहीलाई कसैले पछाडिबाट उचालिरहेको छ।

खासमा माधव नेपालल के स्वार्थका लागि आफ्नै दलमा विद्रोह गरिरहेका छन्? उनी छिमेकीसँग होइन आफ्नै परिवारभित्र विद्रोह गरिरहेका छन् त्यो पनि छिमेकीको इशारामा। यिनलाई कसले बाध्य बनाइरहेको छ? आज आफ्नै दलको नेता केपी शर्मा ओली भन्दा अर्को नेता वा अर्को दलको नेताको प्रधानमन्त्री यिनका लागि किन प्यारो हुने भयो? किन यिनले अर्को दलको नेता रोजेर हस्ताक्षर गर्दै हिँडे?

यिनलाई कुन शक्तिले पछाडिबाट यी सब गतिविधि गर्न बाध्य बनाएको छ? वा यिनको के स्वार्थ पूरा गरिदियो पर्दा पछाडिको शक्तिले? यो तहको नेताले राजनीतिमा विद्रोह गर्दा र फोहोरी खेल निम्त्याउँदा सामान्य नागरिकलाई पनि स्वभाविक लाग्न सकेको छैन।

राजनीतिमा आफू भएको पार्टीको नेतृत्व, नीति चित्त नबुझे वैधानिक तरिकाले सुधारको बाटोमा जाने हो। सुधार गर्न सकिएन, पार्टी नै चित्त बुझेन भने पार्टी त्याग्ने हो। सके पार्टी विभाजन गरेर अर्को पार्टी बनाउने हो, नसके पार्टी नै त्यागेर हिँड्ने हो।

तर, पार्टी त्याग्न नसक्ने, पार्टीभित्र छलफल चलाउन नसक्ने बरु अर्कै पार्टीको ‘फुलटाइमर’ कार्यकर्ताजस्तो व्यवहार गर्ने तर पार्टीको पदमा पनि टाँसिइरहने व्यवहार लज्जाजनक हुन्छ।

कुनै पनि दलका नेताहरुले अब यस्तो विद्रोही गतिविधि नगर्ने र राजनीतिका फोहोरी खेलमा सामेल नहुने जमसमक्ष सामूहिक प्रण नगरेसम्म कुनै व्यवस्था ल्याएपनि, जस्तै राम्रो संविधान र कानुन बनाएपनि राजनीतिमा स्यायित्व आउन र नेपाली जनताले देख्न नपाउने भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *