सिन्धुपाल्चोकलाई टोखाले २० लाख सहयोग गर्ने

डिसी नेपाल
८ असार २०७८ ९:१८

काठमाडौं । टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई रु २० लाख सहयोग गर्ने भएको छ। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमबार बसेको ७०औँ नगर कार्यपालिकाको बैठकले यही असार २ गते राति गएको बाढी तथा पहिराबाट पीडित जनतालाई राहत र उद्धारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सिन्धुपाल्चोकमा बाढी र पहिराले पु¥याएको क्षति तथा उद्धारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत रु २० लाख राहतको घोषणा गरेको जानकारी दिइन्। “मेलम्ची नै काठमाडौँ उपत्यकाको पानीको प्रमुख स्रोत भएको र सो स्थानमा विपद् पर्दा नगरपालिकाले थोरै भए पनि सहयोग गर्ने उद्देश्यले उक्त राहत प्याकेज घोषणा गरेका हौँ”, उनले भने।

टोखाले घोषणा गरेको राहत प्याकेजमध्ये हेलम्बु गाउँपालिकालाई रु १० लाख र मेलम्ची नगरपालिकालाई रु १० लाख रहेको छ । बुधबार राति आएको बाढीले मेलम्ची बजार डुबानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएको थियो । यस्तै टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम बुधबार नगरसभामा पेश गर्ने कार्यक्रम रहेको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *