दिलिप कुमारले २२ वर्षको उमेरमा पाएका थिए बलिउडमा ब्रेक, १२५० रुपैयाँ पारिश्रमिक

डिसी नेपाल
२३ असार २०७८ १०:५२
1.1k
Shares

काठमाडौं। बलिउडका ट्रेजडी किंग भनेर चिनिने दिग्गज अभिनेता दिलिप कुमारको बुधबार ९८ वर्षको उमेरमा निधन भएको छ । फिल्म ज्वारभाटा (१९४४) बाट उनले बलिउड डेब्यू गरेका थिए । १७४७ मा फिल्म जुगनुमा गरेको कामले उनले प्रसिद्धि पाएका थिए । त्यसपछि उनले शहीद, अंदाज, दाग, दीदार, मधुमति, देवदास, नया दौर, आन, आजाद जस्ता कैयौं सुपरहिट फिल्म दिए ।

स्वतन्त्र भारतका सुरुवाती २ दशक सर्वाधिक लोकप्रिय अभिनेता रहेका उनले त्यतिबेलाको श्यामश्वेत पर्दामा कैयौं मुद्दाहरुलाई पेश गरे । दिलिप कुमार २५ वर्षको उमेरमा देशका नम्बर १ अभिनेताको रुपमा स्थापित भएका थिए । राज कपूर र देव आनन्द आएपछि यी तीन जनालाई त्रिमूर्ति समेत भनिन्थ्यो ।

दिलिप कुमार प्रतिष्ठित फिल्म निर्माण संस्था बाम्बे टाकिजका देन हुन् । उनलाई बाम्बे टाकिजबाट देवीका रानीले काम र दाम दिएकी थिइन् । बाम्बे टाकिजमै उनी युसुफ सरवर खानबाट दिलिप कुमार बने । यहीँ उनले अभिनयका सूक्षम कुराहरु सिके । पहिलो फिल्म ज्वारभाटाको लागि उनले १२५० रुपैयाँ पारिश्रमिक पाएका थिए । त्यतिबेला उनको उमेर २२ वर्ष थियो ।

अशोक कुमार र शशधर मुखर्जीले फिल्मिस्तानका फिल्ममा लिएर दिलिप कुमारको करिअरलाई सही दिशामा अगाडि बढाए । त्यसपछि नौशाद, महबुब, बिमल राय, के आसिफ र दक्षिणका एसएस वासनले दिलिपसँग काम गरेर कैयौं चर्चित फिल्महरु बनाए । ४४ वर्षको उमेरमा अभिनेत्री सायरा बानोसँग बिहे गर्दासम्म दिलिप कुमारले यस्ता कैयौं फिल्ममा काम गरिसकेका थिए जुन फिल्मका लागि उनलाई अहिले सम्झिइन्छ ।

दिलिप कुमारले आफ्नो लोकप्रियता र प्रतिष्ठालाई पैसा कमाउन कहिल्यै प्रयोग गरेनन् । पद्मभूषण देखि दादा साहेब फाल्के अवार्डसम्म पाएका दिलिपले आफ्नो करिअरमा ५५–६० फिल्ममा काम गरे । उनलाईै भारत सरकारले मात्र नभइ पाकिस्तान सरकारले पनि सम्मान गरेको छ । १९९७ मा पाकिस्तान सरकारले उनलाई निशान ए इम्तियाज सम्मानले सम्मानित गरेको छ । यो पाकिस्तानको सर्वोच्च नागरिक सम्मान हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.