देउवा सरकारको पहिलो निर्णयः याे बर्षभित्र सबै नेपालीलाई खोप लगाउने

डिसी नेपाल
२९ असार २०७८ २२:०८
952
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेसँगै उनी नेतृत्वको पहिलो मन्त्रीपरिषद वैठक सिंहदरबारमा बसेको छ । वैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई सकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

मन्त्री कार्कीका अनुसार वैठकले चैत मशान्तभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ ।

आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने तथा कोरानाविरुद्ध अग्रपंतिमा खटिएकाहरुलाई एक हप्ताभित्र भत्ता उपलब्ध गराउने मन्त्रीपरिषदको निर्णय भएको हो ।

मंगलबार साँझ साढे ८ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि देउवा पदभार ग्रहणका लागि सिधै सिंहदरबार पुगेका थिए।

काँग्रेस सभापति देउवा सर्वोच्च अदालतले परमादेश दिएपछि मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा शुरुमा जारी गरेको विज्ञप्तिमा देउवाले आपत्ति जनाएपछि साँझ ६ बजेका लागि तय भएको शपथ ग्रहण कार्यक्रम ढिला भएको थियो।

राष्ट्रपतिले शुरुमा संविधानको धारा उल्लेख नगरी देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। तर, देउवाले नियुक्ती सच्याएमात्र शपथ लिने अडान लिएपछि नियुक्तीको व्यहोरा सच्याइएको थियो।

देउवा २०७४ मंसिर ४ मा भएको आम निर्वाचनमा काँग्रेस पराजित भएपछि सरकारबाट हटेका थिए। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले विस्थापित गरेका थिए। उनै देउवा करिब ४१ महिनापछि ओलीलाई विस्थापित गर्दै पुनः सत्तामा पुगेका छन्।

अब देउवाले साउन २९ सम्म प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत पाउन देउवा असफल भए प्रतिनिधिसभा विघटन हुनेछ र देश चुनावमा जानेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.