प्रचण्ड, माधव नेपाल र विप्लवबीच भेट
काठमाडौं। एमालेका विद्रोही नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निजी निवासमा बिहीबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पुगे।
कोटेश्वरमा भएको यो भेटको तस्वीर स्वयम् माधवकुमार नेपालले नै सार्वजनिक गरेका छन्। तरल राजनीतिक अवस्थामा भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ।
नौलो जनवादी क्रान्ति गर्ने भन्दै भूमिगत राजनीति गरेर शान्ति प्रक्रियामा आएका विप्लव र प्रचण्डसँगै कोटेश्वर पुगेर एमालेमा विद्रोह गरिरहेका नेतालाई भेट्नुलाई नयाँ राजनीतिक कोर्समा नयाँ सन्देश दिन खोजेको छ।

ओली सरकारको बर्हिगमनपछि विप्लवले पहिलो पटक बुधबार प्रचण्डसँग खुमलटार पुगेर भेटेका थिए। र सो भेटमा सबै माओवादी घटकहरुबीच एकीकरण हुनुपर्ने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
एमालेमा विद्रोह गरिरहेका माधव नेपालहरुले पनि वृहत कम्युनिष्ट पार्टी बनाउने भन्दै आएका छन्। र तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेकपामा माधव र प्रचण्ड मिलेर ओलीसँग संघर्ष गरेका थिए।
एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि प्रचण्ड र माधव नेपालबीच निकटता कायम छ। हरेक राजनीतिक घटनाक्रममा उनीहरुसँगै देखिएका छन्। ओलीको बर्हिगमन पनि प्रचण्ड र माधवको गठजोडले सम्भव भएको हो। यी दुई नेताले देउवालाई अघि सारेर भए पनि ओलीलाई सत्ताबाट हटाउन सफल भएका छन्।

भर्खर शान्तिपूर्ण राजनीतिमा आएका विप्लवलाई पनि राजनीतिक मुलधारमा प्रतिस्पर्धा गर्न ठूलो कम्युनिष्ट पार्टीको आवश्यकता छ। त्यसैले यो भेटले प्रचण्ड, नेपाल र विप्लवबीच गठबन्धनको ढोका खोलेको छ।
ओली सरकारको बर्हिगमनसँगै ओली सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा विप्लवले चासो देखाएका छन्। विप्लवले बुधबार प्रचण्डसँग भेट गरेका थिए। बिहीबार विहान प्रचण्डसहित माधव नेपाल र विप्लवको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।







डिसी नेपाल








Facebook Comment