कांग्रेस महाधिवेशन : प्रदेश दुईबाट को को छन्,जिल्ला सभापतिको आकांक्षी ?
काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै वडा तहदेखि केन्द्रसम्म बाक्लो सरगर्मी बढ्न थालेको छ। केन्द्रका नेताहरु आफू अनुकूलका नेतालाई जिल्ला सभापति बनाउने कसरतमा लागेका छन्।
यसका लागि नेता कार्यकर्ता केन्द्रीय नेता भेट्न काठमाडौं आउने जाने क्रम निकै बाक्लिन थालेको छ। केन्द्रीय सभापतिका लागि जसरी दावी बढेको छ, त्यसरी नै जिल्लामा पनि सभापतिका दावेदारहरु दौडधुप चलेको छ।
साउन १२ बाट वडा अधिवेशनको कार्यतालिका सार्वजानिक भएको छ भने १६ गते पालिका २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ।
त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ। त्यसपछि भदौ १६–१९ गते काठमाडौंमा १४ औं महाधिवेशन हुने कांग्रेसको कार्यतालिका छ।
मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक सोही संरचना अनुसार हुन लागेको १४ औँ महाधिवेशन नयाँ संरचना अनुसारको हुनेछ।
अधिवेशनको मिति नजिकिएसँगै जिल्लाको भावी नेतृत्वको लागि दौडधुप बढ्न थालेको छ।
को को छन् जिल्ला सभापतिको आकांक्षीहरु?
८ जिल्ला रहेको प्रदेश दुइमा कांग्रेसका प्रभावशाली नेताहरु उपसभापति विमलेन्द्र निधि, कोषाध्यक्ष सितादेवी यालव, केन्द्रीय सदस्य चित्रालेखा यादव, महेन्द्र यादव, डा.अमरेशकुमार सिंह, प्रदीप गिरिलगायतका नेताहरुको प्रदेश हो। यो प्रदेशमा सबैभन्दा प्रभाव उपसभापति निधिको पर्ने सम्भावना धेरै छ।
सभापति देउवाका विश्वास पात्र रुपमा चिनिएका उपसभापति निधि १४ औँ अधिवेशनमा आफै केन्द्रीय सभापतिको दौडमा लागेपछि देउवा र निधि समूह कुन समूहले बाजी मर्ने हो यो विषय निकै रोचक र पेचिलो बनेको छ। १३ औँ महाधिवेशनमा देउवालाई सघाएका निधिकै प्रभावका कारण ८ वटै जिल्ला सभापतिहरु देउवा समूहका मानिन्छन्।
सिराहाः यो जिल्लामा वर्तमान सभापति रामचन्द्र यादव पुनः सभापति बन्ने दौडमा छन्। जिल्ला सचिवद्वय उपेन्द्रकुमार यादव र पञ्चलाल महतो तथा महासमिति सदस्य रामसुन्दर चौधरी पनि सभापति बन्ने आकांक्षीमा देखिएका छन्।
उनीहरु सबै सभापति शेरबहादुर देउवा समूहका मानिन्छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट प्रदेश सांसद नरेशकुमार यादव र नेता रामकिशोर यादव सभापति बन्ने दौडमा रहेका छन्।
सप्तरी : यो जिल्लामा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, नेताहरु बद्रि महात्मन, रामस यादव, रामदेव साह, नारायण चौधरी आकांक्षीमा देखिएका छन्।
उनीहरु सबै पौडेल समूहका नेता मानिन्छन्। त्यस्तै देउवा समूहबाट भने,जिल्ला सचिवद्वय रामकुमार यादव र शत्रुघन यादव पनि सभापतिका आकांक्षीका रुपमा देखिएका छन्।
धनुषा : यो जिल्ला उपसभापति विमलेन्द्र निधिको गृहजिल्ला भएकाले उनको धेरै प्रभाव पर्ने सम्भावना छ। सभापतिको उम्मेदवार बन्न पाँच आकांक्षी देखिएका छन्। तीमध्ये चार विमलेन्द्र निधि नजिक छन्। वर्तमान जिल्ला सभापति महेशशंकर गिरी निधि नजिक मानिन्छन्।
उनी आफै पुनःनेतृत्वमा आउने आकांक्षीमा छन्। उपसभापति सन्तोष यादव, योगी पंजियार र जिल्ला सचिव विश्वेश्वर यादव पनि निधि समूहका रुपमा चिनिन्छन्। पौडेल समूहबाट भने दिनेशप्रसाद प्रसौला सभापतिको आकांक्षीका देखिएका छन्।
बारा : यो जिल्लामा वर्तमान सभापति जयचन्द्र चौरसियानै पुनः नेतृत्वमा आउने आकांक्षीका रुपमा छन् उनी देउवा समूहको नेताका रुपमा चिनिन्छन् । त्यस्तै पौडेल समूहबाट भने नेताहरु राजेन्द्र यादव र संविधानसभा सदस्य रामअयोध्या यादव शेखर कोइराला समूहबाट उम्मेदवार बन्ने प्रयासमा छन्।
सर्लाही : यो जिल्लामा वर्तमान सभापति नागेन्द्रकुमार राय यादव पुनःनेतृत्वका आकांक्षीमा देखिएका छन्। उनी देउवा समूहका मानिन्छन्। पौडेल समूहका लक्ष्मण यादव सभापतिको दौडमा छन्।
रौतहट : यो जिल्लामा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, नेताहरू रामचन्द्र गिरी, शेख ओकिल र रामस्नेही यादव पौडेल समूहबाट सभापतिको आकांक्षीमाद छन् भने सुनील यादव र जितेन्द्र यादव देउवा समूहको उम्मेदवार बन्ने दौडमा छन्।
महोत्तरी : यो जिल्लामा शुशील यादव, बजरंग नेपाली र नागेश्वर यादव सभापति बन्ने दौडमा छन्। देउवा समूहबाट सुशील यादव, पौडेल समूहबाट बजरंग र शशांक समूहबाट नागेश्वर यादव आकांक्षीका रुपमा प्रस्तुत भएका छन्।
पर्सा : यो जिल्लामा देउवा समूहबाटप्रदेश सभा सदस्य रामनारायण कुर्मी र महासमिति सदस्य जनार्दनसिंह क्षेत्री आकांक्षीकारुपमा छन्। पूर्वजिल्ला सभापति राजेन्द्रबहादुर अमात्य पौडेल समूहका रुपमा चिनिन्छन्।
















Facebook Comment