पार्टी कार्यालयमा अनशन बसेका नेताको डरले बालुवाटारमै बैठक बोलाउँछन् देउवा
काठमाडौं। प्रधानमन्त्री बनेपछि काँग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरे। र शुक्रबार नै पार्टी पदाधिकारी बैठक बालुवाटारमा बोलाए। देउवा अघिका प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि बालुवाटारलाई पार्टी कार्यालय जस्तै उपयोग गरेपछि उनको तिब्र आलोचना भएको थियो। देउवाले पनि ओलीको सोही परम्परालाई पछ्याएपछि उनको पनि आलोचना शुरु भएको छ।
काँग्रेस निकटैकै व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत बालुवाटारमा पार्टीको बैठक भएकोमा देउवाको आलोचना गरेका छन्। नागरिक समाजका अगुवाहरुले पनि देउवाले बालुवाटारलाई पार्टी कार्यालयको जस्तो प्रयोग गर्न खोजेको भन्दै आलोचना गरेका छन्।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा बालुवाटारमा पार्टीको बैठक राखेको विषयमा व्यापक आलोचना भए पनि देउवाले शनिबार पनि पदाधिकारी बैठक बालुवाटारमै गरे। शुक्रबारको पदाधिकारी बैठकमा महाधिवेशनको तयारीबारे छलफल भएको थियो भने शनिबारको पदाधिकारी बैठकमा काँग्रेसकै कार्यकर्ताले केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि गरेको हातपातको विषयमा छलफल भयो।
तर, देउवाले पार्टी कार्यालयमा बैठक नबासलेर किन बालुवाटारमा राखे? यो प्रश्न उठिरहेको छ। देउवा निकट एक काँग्रेस पदाधिकारी भन्छन्, ‘प्रधानमन्त्री भएपछि कार्यव्यवस्थाको विषय पनि छ। सुरक्षाको विषय पनि छ।’
आफ्नो पार्टी कार्यालयमै सहभागी हुन नसक्ने देउवालाई त्यस्तो सुरक्षा चुनौती के हो ? भन्ने प्रश्नमा ती नेताले डिसी नेपालसँग भने, ‘अरु सुरक्षा चुनौतीभन्दा पनि पार्टी कार्यालयमा अनशन बसिरहेका छन् नि!’
हो पार्टीको क्रियाशील सदस्यता विवादका विषयमा विभिन्न माग राख्दै नेपाली काँग्रेस बाराका नेताहरु विगत एकहप्तादेखि पार्टी मुख्यलाय वीपी स्मृति भवन सानेपामा अनशन बसिरहेका छन्। देउवा सोही अनशनमा बसेका नेताहरुलाई ‘फेस’ गर्नुपर्ने भएपछि पार्टी कार्यालय नगएका हुन्।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले खाजा खर्चमामात्र गत आर्थिक वर्षमा ४ करोड रुपैयाँ खर्च गरेको शनिबारमात्र सार्वजनिक भएको छ।
बालुवाटारमा हुने पार्टीका बैठकका कारण सो खर्च अस्वभाविक रुपमा बढेकोमा कुनै शंका छैन। अब देउवाले पनि ओलीले लिएको सोही परम्परालाई पछ्याउँदा राज्यको ढुकुटीमै खर्च बढ्ने देखिन्छ। तर, देउवा निकट ती नेताले भने पार्टीको बैठकमा सरकारी कोषबाट कुनै खर्च नगरिने दावी गरे। उनले भने, ‘पहिलाका प्रधानमन्त्रीले के गर्नुभयो हामीलाई त्यो थाहा छैन। तर, हामी पार्टीको बैठक खर्च सरकारी कोषबाट गर्दैनौं।’







डिसी नेपाल







Facebook Comment