प्रधानमन्त्री देउवाकाे काँधमा एमसीसीकाे भारी !

डिसी नेपाल
५ साउन २०७८ ७:२६
812
Shares

काठमाडौं। कानुनी लडाईपछि विषम परिस्थितिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारोहण गरेका छन्। कम्युनिष्ट पार्टीको करिब दुई तिहाईको सरकारले आन्तरिक खिचातानी र कलहका कारण जनताले दिएको पाँच वर्षे म्याण्डेड पूरा गर्न सकेन।

करिब साढे तीन वर्ष पनि सरकार चलाउन नसकेको कम्यूनिष्ट पार्टी नै छिन्नभिन्न भई अभुतपूर्व रुपमा संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले सत्तारोहण गरेको छ। र अब गिजोलिएको राजनीतिले नयाँ कोर्स लिने आशा गरिएको छ।

पाँचौ पटक सत्तारोहण गरेका प्रधानमन्त्री देउवालाई दुई छिमेकी मित्र राष्ट्र भारत र चीन लगाएत अन्य मुलुकबाट बधाई तथा शुभकामना सन्देश पनि आउन थालेका छन्।

सुरुमा राजदूत तहबाट बधाई सन्देश आए पनि प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरिसकेपछि उनलाई उच्च तहबाट बधाई तथा शुभकामना सन्देश आउन थालेको छ। ती राष्ट्रहरुले बधाई सँग सँगै आफ्ना स्वार्थलाई परिपूर्ति गर्नको लागि उचित मौकाको पखाई समेत गरेका छन्।

अमेरिका नेपालको अस्थिर राजनीतिले गिजोलिएको एमसीसीलाई संसदबाट पारित गर्ने र लागू गर्ने उपयूक्त मौकाको पर्खाइमा छ। देउवाले त्यो वातावरण मिलाउने अपेक्षा अमेरिकासँग हुनसक्छ।

यस्तै अर्कोतर्फ चीनको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा नेपालले हस्ताक्षर गरे पनि त्यसको कार्यन्वयनले  गति लिन सकेको छैन। एमसीसी र बीआरआईको रस्साकस्सी त छँदैछ, भारतको ओली सरकारसँग उतार चढावपूर्ण सम्बन्धकै बीच सत्ता हेराफेरि भएकोले प्रधानमन्त्री देउवाले  भारतसँगकाे सम्बन्धलाइ सन्तुलन कायम गर्नु पर्ने अवस्था छ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा आइतबार नयाँ सरकारको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी आधारभूत खाका सार्वजनिक गरेका थिए। संसदमा बोल्दै प्रधानमन्त्री देउवाले छिमेकी मुलुकसँग राम्रो सम्बन्ध पहिलो प्राथमिकता भएको बताए।

उक्त क्रममा देउवाले दुवै छिमेकी मुलुक भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नै देशको राष्ट्रिय हितमा रहेको बताएका थिए। खासगरी अमेरिकी सरकारसँगको ५५ अर्ब रुपैयाँको सहयोग सम्बन्धी सम्झौता (एमसीसी) बारेको विवादलाई कांग्रेस सरकारले कसरी टुंग्याउँछ, यो भने प्रतिक्षाको विषय बनेको छ।

तत्कालीन नेकपा पार्टीको विवाद यही एमसीसीबाट सुरु भएको थियो। र परिणाम अहिले पार्टी सग्लो छैन, दुइटा भएको पार्टीमा पनि चिरा परेको अवस्था छ। सत्तारुढ कांग्रेस एमसीसीलाई पारित गर्न गर्ने मनासायमा छ भने सत्ता साझेदार माओवादी पार्टी एमसीसीलाई संसोधन गरेर अघि बढ्नु पर्ने अडानमा छ।

सत्ता समिकरण बनीसकेपछि एउटा टेलिभिजन कार्यक्रममा बोल्दै माओवादीका अध्यक्ष्य पुष्प कमल दाहाल प्रचण्डले एमसीसीलाई नेपालको राष्ट्रिय हित अनुकुल कति पारिमार्जन र संशोधन गर्न सकिन्छ, त्यो हेर्नुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘एमसीसीलाई जस्ताको तस्तै मान्दैनौं भनेका छौं। एमसीसी जस्ताको तस्तै पारित हुँदैन। यसमा आवश्यक संशोधन, परिमार्जन र व्याख्या गरेर मात्र यसलाई अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो धारणा हो।’ यस्ताे अवस्थामा प्रधानमन्त्री देउवाले एमसीसीलाइ कसरी अगाडि बढाउँछ भन्ने चासाेकाे रूपमा हेरिएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.