आ-आफ्नो रणनीति बनाउँदै एमालेका दुवै पक्ष, एकता प्रक्रिया अन्याेलमा

डिसी नेपाल
६ साउन २०७८ ७:५०
272
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेपनि समय सीमाभित्र कुनै कारवाही गरेको छैन। अहिले एमालेका दुवै समूह आन्तरिक छलफलमा जुटेका छन्।

सोमबार स्पष्टीकरण सोधिएको भए पनि अहिलेसम्म नेपाल समूहका कुनै पनि सांसदहरूलाई पत्र पुगेको छैन। नेपाल समूहका सांसदहरूले आफूहरूसँग पत्र नपुगेको बताउँछन्।

संस्थापन पक्षले स्पष्टीकरण सोधे पनि त्यसको जवाफ नदिने बरु अदालतको आदेशविपरीत हुने भएकाले कानुनी लडाइँ लड्ने नेपाल पक्षका नेताहरूले बताउँदै आएका छन्।

सोमबारको बैठकले शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । उनीहरूले स्पष्टीकरणको जवाफ नदिए पनि कारबाही गर्ने विषयमा कुनै निर्णय भएको छैन। बैठकमा सकेसम्म पार्टी एकता कायम गरेर जानुपर्ने आवाज उठेको थियो।

मंगलबार नै बसेको एमालेको नेपाल समूहका सांसदहरूको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले एकताबद्ध हुन नसक्ने निष्कर्ष निकालेको छ।

संस्थापन पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरूलाई कारबाही गर्ने तयारी गरेपछि बसेको सांसदहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

अहिलेको अवस्थामा ओलीलाई अध्यक्ष स्वीकार गरेर अगाडि बढ्ने परिस्थिति नभएको र एकताका लागि ओलीले पद छाड्नुपर्ने विषयमा सांसदहरूबीच छलफल भएको हो।

नेपाल पक्षले पनि पार्टीभित्र रहँदा वा नयाँ दल खोल्दा केकस्तो हुन्छ भनेर छलफल गरिरहेको छ। सो समूहले तीन चरणमा अहिलेको अवस्थाबारे छलफल गर्ने जनाएको छ। यो समूहमा पनि पार्टी एकताका पक्षमा कुराकानी गर्न नेपाललाई सुझाव दिइएको छ।

उता नेपाल समूहलाई सरकारमा सहभागी हुने दबाव परको छ। मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए। तर नेपाल पक्षले अझै पनि पार्टी एकताका लागि पहल गर्ने भन्दै तत्काल सरकारमा सहभागी नहुने जवाफ दिएको स्रोतले जनाएको छ। अहिले पनि दुवै समूहका दोस्रो तहका नेता आन्तरिक छलफलमा जुटेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.