संविधान संशोधन गरेर धारा ७६(५) हटाउनुपर्ने एमालेको निष्कर्ष

डिसी नेपाल
६ साउन २०७८ २०:२८

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ। पार्टीको जारी केन्द्रीय कमिटी बैठकले बुधबार पारित गरेको निर्णयबारे जानकारी दिँदै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार च्यासलमा बसेको बैठकले प्रतिनिधिसभा विघटन र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरेको फैसलाको संवैधानिक उपचार खोज्ने निर्णय गरेको हो। यो बैठक वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बहिस्कार गर्दै आएको छ।

यो निर्णयबारे प्रस्ट पार्दै प्रवक्ता ज्ञवालीले भने, ‘यो ७६ (५)को जो निर्दलीय हुने भन्ने व्याख्या छ त्यो संशोधन गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ।’ गत असार २८ मा सर्वोच्च अदालतको संवैधानिक इजलासले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिनेक्रममा धारा ७६(५)मा सांसदहरुलाई ह्वीप नलाग्ने व्याख्या गरेको छ। सोही व्याख्याका कारण गत सोमबार प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत माग्दा एमालेका २२ जना सांसदले उनको समर्थन गरेका थिए। जबकी एमालेको संसदीय दलको बैठक (माधव समूहले बहिस्कार गरेको)ले देउवाको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।

ओलीले ती २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण भने सोधेका छन्। तर, देउवालाई समर्थन गरिएको आरोप भने लगाएका छैनन्। अन्य आरोपमा किन पार्टीबाट निष्कासन नगर्ने भन्दै स्पष्टीकरण सोधिएको छ।

ओली पक्षले अदालतले ७६(५)मा दलीय ह्वीव नलाग्ने सर्वोच्चको व्याख्या निदलीयता ल्याउने भन्दै आएको छ। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले संविधानसभामा संविधान बनाउने क्रममा अदालतलाई संसदीय समिति मातहत ल्याउने, छुट्टै संवैधानिक अदालत बनाउने र न्यायाधीशको पुनर्नियुक्ती हुनुपर्ने कुरा उठेपछि आफूहरुले त्यसलाई अस्वीकार गरेको भन्दै अब संविधान संशोधनमार्फत धारा ७६(५)लाई सच्याउने बताए।

यस्तै बुधबारको बैठकमा अध्यक्ष ओलीले पार्टीको एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताएको उनले जानकारी दिए। मोही मथेर भए पनि नौनी निकाल्ने प्रयास गरिने ओलीले बताएको उनले जानकारी दिए।

बैठकले ओली सरकारका उपलब्धिहरुबारे पनि समीक्षा गरेको र त्यसलाई आमजनतासम्म पुर्याउने निर्णय गरिएको बताए। यस्तै बैठकले वीपी स्मृति दिवसका अवसरमा श्रद्धाञ्जलि प्रस्ताव पारित गरेको छ भने विहीबार पृष्पलाल स्मृति मनाउने निर्णय पनि गरेको छ। केन्दीय कमिटीको बैठक विहीबार पनि बस्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *