केन्द्रीय कमिटी बैठकः अध्यक्ष ओलीलाई पार्टी एकतावद्ध बनाउने जिम्मेवारी

डिसी नेपाल
७ साउन २०७८ १९:११
316
Shares

काठमाडौं। नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीलाई एकतावद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको छ। वरिष्ठ नेता माधवकुमार समूहले बहिस्कार गर्दै आएको सो केन्द्रीय कमिटी बैकठले पार्टीलाई एकतावद्ध बनाउन अध्यक्षले अधिकतम लचकता अपनाएर भएपनि एकतावद्ध बनाउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

उनका आममाफी दिएर भए पनि पार्टी एकतावद्ध बनाउने अध्यक्ष ओलीले बैठकमा जानकारी गराएका छन्। विहीबार नै पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा पनि अध्यक्ष ओलीले आममाफी दिन तयार रहेको बताएका थिए। यसअघि बुधबार केन्द्रीय कमिटी बैठकमा आफू वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहे पनि नेपालले नमानेको ओलीले बताएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिएकाेमा २४ घण्टे स्पष्टीकरण सोधे पनि उनीहरुमाथि थप कारबाही भने विहीबार बैठकले गरेन। पार्टी एकतावद्ध बनाउने विषयमा छलफलहरु चलिरहेकाले सो विषयमा निर्णय नभएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।

अध्यक्ष ओलीले आममाफीको कुरा गरे पनि माधव समूहले भने त्यसलाई सकरात्मक रुपमा लिएको छैन। माधव समूहका एक नेताले भने, ‘हामीले गल्ति गरेको भए पो माफीको कुरा होला। आम भनेको अध्यक्ष ओली पनि हो भने कुरा बेग्लै हो।’

विहीबार नै ओली समूह र माधव समूहका सांसदहरुबीच पनि पार्टी एकताका विषयमा दबाब दिने भन्दै छलफल भएको छ। सो छलफलमा सहभागी एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले भने, ‘हामी विगत केही दिनदेखि छलफलमा छौं। पार्टीलाई एकतावद्ध बनाउन सहजहोस भनेर हामीले प्रतिनिधिसभाको मतदानमा पनि भाग लिएनौं। दुबै नेताहरुलाई दबाब दिन पनि हामीले यसप्रकारको छलफल गरिरहेका छौं। फेरि पनि छलफल गछौं।’

विहीबार ओली समूहका कृष्णप्रसाद दाहाल, सूर्य पाठक, एलवी साँवा र माधव समूहका राजबहादुर बुढा, यज्ञ सुनुवार, झपट रावललगायतका सांसदहरुबीच छलफल भएको थियो। यसप्रकारको छलफलमा धेरैभन्दा धेरै सांसदहरुलाई समेटेर दुबै नेताहरुलाई मिल्नका लागि घेराबन्दी गरिने बुढाले बताए। उनले भने, ‘पहिला कार्यदलमा रहेका १० जना नेताहरुसँग छलफल गर्छौ, त्यसपछि दबाब बढाउँछौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.