राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच शीतल निवासमा एक घण्टा छलफल

डिसी नेपाल
८ साउन २०७८ २०:२९
860
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शुक्रबार साँझ शीतल निवासमा भेटवार्ता भएको छ। प्रधानमन्त्री बनेपछि देउवा पहिलो पटक शीतल निवास गएका हुन्। राष्ट्र प्रमुख र सरकार प्रमुखबीच हुने यसप्रकारको भेट नियमित हो।

देउवा राष्ट्रपतिसँगको भेटका लागि सवा ६ बजे शीतल निवास पुगेका थिए। सो भेटवर्ता सवा ७ बजेसम्म भएको थियो। सर्वोच्च अदालतले परमादेश दिएपछि देउवा गएको असार २९ गते राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भएका थिए। तर, सोही दिन राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गरेको भाषालाई लिएर विवाद भएको थियो। देउवाले भाषा नसच्याए शपथ नलिने अडान राखेपछि शपथ ग्रहण कार्यक्रम २ घण्टा ढिला भएको थियो।

संविधानको धारा उल्लेख नगरी सर्वोच्चको परमादेश बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख भएपछि देउवाले त्यसमा विरोध जनाएका थिए। पछि राष्ट्रपति भण्डारीले संविधानको धारा उल्लेख गर्न तयार भएपछि शपथ भएको थियो।

देउवा प्रधानमन्त्री नियुक्त भएकै दिनदेखि राष्ट्रपति र प्रधानमन्त्रीबीच टसल शुरु भएको थियो। नियमित भेट प्रधानमन्त्री नियुक्त भएको १० दिनपछि भएको छ।

यसैबीच शुक्रबार नै राष्ट्रपति भण्डारीले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि भेट गरेकी छन्। शुक्रबार दिउँसो उनीहरुबीच दुई घण्टा लामो भेट भएको बताइएको छ। यो भेटबारे शीतल निवासले केही जानकारी दिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.