काङ्ग्रेस र कम्युनिस्टको विकल्प राप्रपा – कमल थापा

डिसी नेपाल
९ साउन २०७८ १७:५६
96
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत, नितिगत कार्यशैलीमा भिन्नता नरहेको बताउँदै त्यसको विकल्प राप्रपा मात्र हुन सक्ने बताएका छन् ।

आज काठमाडौं क्षेत्र नं ५ (क) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले चौध वर्ष अघि आमुल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको बताएका छन् । अध्यक्ष थापाले मुलुकमा व्याप्त विकृती, विसंगति र बेथितिको अन्त्य चाहने हो भने अब जनताको रोजाई राप्रपा हुनुपर्ने बताएका छन् ।

अध्यक्ष थापाले धर्मनिरपेक्षताको आडमा संगठित र योजनावद्ध रुपमा सनातन धर्ममाथि आक्रमण भईरहेको बताउँदै प्रमुख नेताहरुको अकर्मण्यताले विदेशी चलखेल बढेको समेत बताएका छन् । नेपालीको पहिचान, राष्ट्रिय एकताको आधार, समाज, राष्ट्र र परिवार संचालन गर्ने आधारलाई नष्ट गरेर विदेशी संस्कृति र धर्म लाद्ने काम भएको अध्यक्ष थापाले आरोप लगाएका छन् ।

पार्टीको महाधिवेशन र स्थानिय तहको निर्वाचनको तयारी तिव्र पार्न कार्यकर्ताहरुलाई निर्देशन दिदै थापाले संगठन सुदृढीकरण, सकृय सदस्यता वितरण अभियान र जनताको सुखदुखमा उच्च प्राथमिकता साथ काम गर्न आग्रह गरे । काङ्ग्रेस र कम्युनिस्टको असफलता, भ्रस्टाचार र कुशासनको भण्डाफोर गर्दै देशव्यापी आन्दोलनमा जानुपर्ने आवश्यकता औल्याउँदै थापाले जनताले विकल्प खोजेको अबको विकल्प राप्रपा बनाउनको निमित्त सक्रियता पुर्वक काम गर्न जोड दिए ।

कार्यक्रममा नेकपा एमालेका काठमाडौं जिल्ला सदस्य न्युक्षे महर्जन सहित सयौं राप्रपा प्रवेश गरेका छन् । कार्यक्रममा पार्टीका कोषाध्यक्ष चन्द्रबहादुर गुरुङ्ग, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा, केन्द्रीय सदस्य केशव रेग्मी लगायतले आफ्नो धारणा राखेका थिए भने कार्यक्रम क्षेत्र नं. ५ (क) का अध्यक्ष अमित थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.