मन्त्रिपरिषदलाई पूर्णता दिन देउवालाई सकस
काठमाडौ। सरकार गठन भएको लामो समय बितिसक्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता लिन सकेका छैनन्। गठबन्धनमा आवद्ध दलमा मन्त्रीका आकांक्षी धेरै भएपछि प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद विस्तार गर्न सकस भएको हो। गठबन्धन दलमा मात्रै नभएर आफ्नै दलमा समेत मन्त्री चयन गर्न देउवालाई सकस भएको छ।
असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही चार जना मन्त्री नियुक्त गरेका थिए। सरकारले पूर्णता नपाउँदा सरकारको काम कारवाहीसमेत प्रभावित बनेको छ।
संविधानतः मन्त्रिपरिषद्को संख्या २५ भन्दा बढी बनाउन पाइँदैन। हाल देउवासहित पाँच जना मन्त्रिपरिषद् रहेकाले उनले अब जम्मा २० जना मन्त्री मात्रै नियुक्त गर्न पाउँछन्। त्यसमा पनि मन्त्रालयको संख्या २१ मात्रै रहेकाले फुल मन्त्री १७ जना मात्रै नियुक्त हुन सक्छन् भने बाँकी चार जना राज्यमन्त्री बनाउनुपर्छ।
नयाँ मन्त्री नियुक्त गर्न नसक्दा प्रधानमन्त्री देउवा आफैं १७ वटा मन्त्रालयको जिम्मेवारी लिन विवश छन्। मन्त्रालयमा मन्त्री नहुँदा नीतिगत निर्णय लिन निकै कठिन भइरहेको छ भने प्रशासनिक कामकाजमा समेत उल्झन आइपरिरहेको छ। मन्त्रीको अभावमा मन्त्रालयको कुनै नीतिगत निर्णय सम्बन्धमा छलफल गर्नुपरेमा सचिव फाइल लिएर प्रधानमन्त्रीकहाँ धाउनुपर्ने वाध्यतामा छन्।
प्रधानमन्त्री एक्लैले १७ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा मन्त्री बन्न दौडधुप गर्नेको ताँती देखिएको छ। शनिबार एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीका आकांक्षी धेरै हुँदा आफूलाई तनाव भएको बताएका थिए।
पार्टीभित्र मन्त्री बन्नका लागि दबाब दिने नेताहरूका कारण आफूलाई मानसिक तनाव भएको पनि उनले बताए। उनले भने, ‘म अहिले पनि मन्त्री बन्न दबाब दिने मान्छेहरूको हुलभित्रबाट यहाँ आएको छु। आतंक छ, मेरा दिमागमा, कसलाई मन्त्री बनाउने रु हाम्रो पार्टीको ४९ जना सांसद सबै मन्त्री बन्न चाहन्छन्, हामीले पाउने मन्त्री बढीमा सात जना हो। ४र५ दिनयता म चाँहि साँच्चै एकखालको मानसिक तनावभित्र छु।’
आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्री पठाउन आफूले प्रयास गरिरहेको भए पनि मन्त्री नपाएपछि नेतृत्वलाई सराप्दै हिँड्ने प्रवृत्तिका कारण आफूलाई तनाव भएको उनले बताए।
शनिबार सत्ता गठबन्धनको बैठकमा पनि सरकार विस्तारको विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न सकेन। नेपाली कांग्रेसभित्र पनि गुटगत रुपमा सरकारमा सहभागी गराउनु पर्ने अवस्था छ।
उता जसपाको एक समूह उपेन्द्र यादव पक्षले आफूहरुले सात मन्त्रालय पाउनु पर्ने दाबी गरेको छ। मन्त्रालयको सख्या सीमित र मन्त्रीका आकांक्षी धेरै हुँदा प्रधानमन्त्रीमा नियुक्त भएको १३ दिन बित्दासमेत देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्।







डिसी नेपाल








Facebook Comment